नियात्रा: गुरुङ समुदाय रहेको ताङ्तिङको सुन्दरता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०८१, बुधबार
10 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

यात्राको अर्थ गति हो । नियात्रालाई यात्रासाहित्य, यात्रावृत्तान्त, यात्रावर्णन, यात्रा संस्मरण भनेर पनि चिनिन्छ । यात्राका क्रममा देखिएका तितामिठा, राम्रा नराम्रा, अनुभव, भोगाइलाई जस्ताको तस्तै वर्णन गरिएको हुन्छ । हामी मानिसलाई पुस्तकका कुराले मात्र पुग्दैन । त्यसबाट सिक्न थाल्यौँ भने व्यवहारिक ज्ञान नहुने रहेछ । हाम्रो जीवनलाई अनुभवमुखी, स्मरणीय बनाउनका लागि पनि यात्राका क्रममा देखिएका हरेक घटनाले सकारात्मक, मनोरञ्जन, दिएर कुनै पनि ठाउँको भाषाशैली, रहनसहन, भेषभुषा, जीवनशैली, संस्कृतिलाई नजिकैबाट बुझ्न पनि यात्राको महत्त्वपूर्ण भूमिका रहन्छ।

- Advertisement -
Ad image

गैंडाकोट नगरपालिका वार्ड नं. १ मा रहेको श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट हामी गण्डकी प्रदेशको कास्की जिल्लाको मादी गाउँपालिकको ताङतिङ ‘प्रकृति र संस्कृतिमा धनी ताङतिङ गाउँ’को ३ दिने अवलोकनीय भ्रमणमा जाने निर्णय गर्यौ । हामीले यात्राको लागि कालिगण्डकी कोरिडोरको बाटो हुँदै जान निर्णय गर्यौ ।

२०८० साल कार्तिक २ गते १९ जना शिक्षक साथीहरू बिहान ५:३० मा गाडी चढी यात्राका लागि प्रस्थान गर्यौ । जसमा म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना पनि उपस्थित थिएँ । हामी गण्डकी प्रदेस, कास्कीको मादी गाउँपालिका वार्ड न. २ को ‘ताङतिङ’का लागि नव निर्मित सडक कालिगण्डकी कोरिडोर को पहाडी बाटो हुँदै उकालो लाग्यौँ । गैंडाकोट नगरपालिका हुँदै हामी ढोडेनी बाट अगाडि बड्यौँ । त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, फापर, अदुवा रहेछ ।

हामी बुलिङटार गाउँपालिका अन्तर्गतको डेढगाउँमा रहेको अकला देवीको मन्दिर दर्शन गर्यौ । धार्मिक आस्था बोकेकी देवी जहाँ मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको पायौँ । अकला देवीको दर्शन पश्चात् चिया खाजा खाई पुनस् यात्रालाई निरन्तरता दियौँ । त्यहाँको मुख्य अन्नबालीमा धान खेती, कोदो, मकै, भटमास रहेछ । लहलहाउँदो धान खेतीले हाम्रो मननै लोभ्यायो । सिंचाइको राम्रो सुविधा भएकाले धान खेती राम्रो पायौँ । धान पाकेर पहेँलो भई सकेको थियो । पिच सडक, रमाइलो बस्ती, साना ठूला बाक्ला घरहरु थिए । यात्राकै क्रममा डेढगाउँको प्राकृतिक आनन्द लिदैँ उकालो लाग्यौँ । पहाडी घुमाउरो अत्यन्त साँघुरो बाटो उकाली ओराली गर्दै अगाडि बढ्यौं ।

यात्राकै क्रममा घिरिङ गाउँपालिका जहाँ अत्यन्त पातलो बस्ती , न्यून जनसंख्या रहेको पायौँ । कच्ची, साँघुरो, घुमाउरो बाटो थियो । बाटो छेउका घरहरुको भग्नावशेष मात्र थिए । धेरैजसो घरमा ताला मात्र झुन्डिएका थिए । त्यो देख्दा लाग्छ, विभिन्न असुविधाका कारण त्यहाँका मान्छेहरु घर छाडेर अन्यत्र बसाइँसराइ भई गईसकेका रहेछन् । त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, मास, भटमास हुने रहेछ । त्यस ठाउँमा पानीको असुविधा रहेछ ।

हामी भिमाद नगरपालिका पुग्यौँ । भिमाद चाहिँ अलि विकसित त्यहाँका बाटो कहीँ पिच त कहीँ कच्ची रहे । घरहरु पनि वाक्ला, जनसंख्या पनि बढी रहेको पायौँ । पक्की घरहरु, विकसित परिवेश प्रकृतिको काखमा रहेको भिमाद अत्यन्तै मनमोहक थियो । अन्नबालीमा मकै, कोदो, अदुवा, भटमास हुने रहेछ । उच्च पहाडीभेगमा अवस्थित भिमादले हामी सबैको मन लोभ्यायो ।

त्यहीँको एक होटलमा खाना खायौँ त्यसपछि पोखरा तर्फ अगाडि बढ्यौँ । पोखराको अमरसिंह चोकबाट सिधैं माथि लाग्यौं । बाटो बिराएर हामी पश्चिम तर्फ सिक्लेसतिर लागेको पत्तै पाएनौ । करिब ३० मिनेट उकालो चढेपछि हामी पुन स् तल झन्यौँ । पोखराको काहुँखोलाबाट बसमा करिब ४:०० घन्टाको ठाडो उकालो बाटो लाग्यौँ । पहाडी, घुमाउरो, कच्ची, एकतर्फी बाटो अत्यन्त साघुँरो बाटो रहेछ । आफ्नो ज्यान लाई नै धरापमा राखेर अत्यन्तै जोखिमपूर्ण यात्रा गरी रह्यौं । कहीँ कहीँ स-साना घरहरु, बिचमा हाइड्रोपावर, एकातिर पहाड अर्कोतिर मादी खोला बगेकी छिन् । बेलुका ५:०० बजे बाट बसको यात्रा गरी राती ९:०० हामी ताङतिङ गाउँ पुग्यौँ ।

ताङतिङ गाउँको अर्थ नै रमाइलो गाउँ हुने रहेछ । कास्की जिल्लाको गुरुङ समुदाय रहेको त्यो गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबले अत्यन्त धनी गाउँ रहेछ । त्यहीँ गाउँ हुँदै पर्यटकहरु हिउँ खेल्न , लालीगुराँस हेर्न र प्रत्यक्ष हिमालसँग नजिक हुन नौचुडाँडा क्रबुडाँडा र चोरोडाँडा हुँदै घुम्ने रहेछन् ।

हिमालको उज्यालो झलमल ताङ्तिङ गाउँ अत्यन्तै रमणीय छ । गण्डकी प्रदेशको कास्की जिल्लाको पहाडी क्षेत्र, मादी गाउँपालिका २ मा अवस्थित समुन्द्री सतहबाट करिब १७०० मिटरको उचाइमा रहेको छ । यसको पूर्वमा लमजुङ जिल्लाको क्लोहासाँथर र मर्स्याङ्दी गाउँपालिका पर्दछ । पश्चिममा सिक्लेस, पार्चे, खिलङ र ताप्राङ गाउँ पर्दछ । उत्तरमा मनाङ जिल्लाको चामे र निस्याङ भ्याली पर्दछ भने दक्षिणमा कास्कीका याङ्जाकोट,सैमराङ लगााएतका गाउँहरु पर्छन् ।

ताङतिङमा २०० घरहरु छन भने जनसंख्या १००० रहेछ । ढुङ्गा र टिनका छाना भएका चिटिक्कका झुरुप्प सुन्दर बस्ती छ । त्यहाँ ९५ प्रतिशत गुरुङ बस्ती र बाँकी दलित मिलेर बसेका छन् । प्रकृति र संस्कृतिको सङ्गम गाउँ अत्यन्तै आकर्षक छ । ताङतिङको फेदीबाट मादी नदी बग्छिन् । गाउँबाट अन्नपूर्ण , लमजुङ हिमाल छर्लंग देखिन्छन् । हिमालको हिउँ पहिरो, पारिपट्टि सिक्लेस गाउँको सिरानमा हिमाल मुस्कुराएको देख्दा आनन्द लाग्छ ।

त्यहाँका मानिसहरुपनि त्यस गाउँ जस्तै उज्याला, फरासिला , सहयोगी र राम्रो संस्कार भएका रहेछन् । ग्रामीण जीवनशैली , गाउँलेको मुख्य पेशा कृषि , पशुपालन , वैदेशिक रोजगार र पर्यटन व्यवसाय रहेछ । घरायसी उत्पादनका सामग्रीहरु तयार गर्ने रहेछन् । सामुहिक भावना भएका मानिसहरु कोदो रोप्दा, दाउरा खोज्दा, विकासका काम मिलेर गर्दा रहेछन् । गुरुङ भाषा , कला संस्कृति , परम्परा र रहनसहनका हिसाबले ताङतिङ एउटा खुल्ला सङ्ग्रालय रहेछ ।

आफ्नो संस्कृति झल्कने होटल, होमस्टेका आँगनमा मौलिक वेशभुषामा सजिएर घाटु नाच, झ्याउरे, सोरठी र ठेटर नाच देखाउने गर्दा रहेछन् । स्थानीय उत्पादनलाई खानामा विशेष जोड दिने रहेछन् । हामी त्यहीँ गाउँका गणेश बहादुर गुरुङको होमस्टेमा बस्यौं । रात्रीको समयमा हामी शिक्षक साथीहरू आगो बालेर वरिपरि तापसँगै प्रकृतिको आनन्द लिदै बस्यौं । हामीले खाना ११:४५ मा खायौँ र सुत्यौँ ।

भोलिपल्ट बिहान ५:०० बजे सबैजना चिया नास्ता खाई कोही उकालो ट्रेकिङमा त कोही झर्ना हेर्न सेल्फी डाँडा तर्फ लाग्यौँ । हामी पदयात्राका क्रममा नौचुडाँडा तर्फ करिब २:०० घन्टाको ठाडो उकालो लाग्यौं । हामीलाई बाटो देखाउदै त्यहाँका विशेषताहरु बताउन गणेश दाइसँगै हुनुहुन्थ्यो । उहाँले हामीलाई हिँड्न सहज होस् भनि सबैलाई एक – एक ओटा लौरो काटिदिनु भयो । गणेश दाइको पछि पछि हामीसबै ठाडो उकालो लाग्यौँ । चारैतिर घना जङ्गल बिचमा सानो साघुँरो खच्चड हिड्ने बाटो थियो । हामीहरु त्यहीँ बाटो उकालो लाग्यौं । चारैतिर लालीगुराँसका बोटहरु , सिलटिमुरका बोट लगाएत विभिन्न औषधिजन्य जडिबुटीका बोटहरुका बिच घुमाउरो बाटो, चराचुरुङ्गीका आवाज, किराहरुको आवाजको आन्नद लिदै, सुनसान जङ्गल तर्फ अगाडि बढ्यौं । हामी ७:०० बजे नौचुडाँडा पुग्यौँ । त्यहाँबाट प्रत्यक्ष अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, हिमश्रृंखलाको अवलोकन गर्यौ प्रकृतिसँग केहीबेर रमायौँ । त्यो जङ्गलको ऐतिहासिक क्षेत्र, धार्मिक वन भएको मान्यता रहेछ ।

शिकारी चराहरु, ध्वाँसे चितुवा, थार आदि जङ्गली जनावरहरु त्यस जङ्गलमा हुँने रहेछन् । हिमाललाई नजिकैबाट नियाली सकेपछि हामी केही तेर्सो उकालो बाटो लाग्यौँ । केही माथि पुगेपछि ढु्ङ्गाले बच्चा जन्माउने ठाउँमा पुग्यौँ । गणेश दाइको भनाइ अनुसार त्यहाँ पहिला जम्मा दुई ओटा ठूला ढुङ्गा थिए रे त्यसपछि क्रमशः एक पछि अर्को गर्दै अहिले साना ठूला गरी ४०र५० ओटा ढुङ्गा रहेको हामीले प्रत्यक्ष देख्यौँ र सोही कुराको जानकारी पनि पायौं । त्यसपछि हामी अर्को बाटो ओरालो झर्दै होमस्टे तर्फ लाग्यौं । करिब १०:३० मा हामी होमस्टेमा आई खाना खायौँ । त्यसपछि ११:०० बजे हामी गाडी चढी त्यहाँबाट पोखराको फेवाताल तर्फ लाग्यौँ ।

फेवातालको बिचमा रहेको तालबराही मन्दिरको दर्शन गर्न ढुङ्गा चढी गयौँ । वराही मन्दिरको पुनस् निर्माणक क्रममा काम भई रहेको रहेछ । पुरानो मन्दिर भत्काएर नयाँ संरचनाका लागि आर्थिक संकलन, सहयोग, भौतिक संरचना निर्माण कार्य हुँदै थियो । हामीले देवी भगवतीको दर्शन गरी त्यहाँबाट करिब ४:०० बजे ताल बाहिर आयौँ । पोखरामा खाजा खाई करिब ६:०० बजे हामी घर तर्फ फर्कन मुग्लिनको बाटो हुँदै आयौँ । बिच बाटोमा गाडी बिग्रेको कारणले केही ढिलो भयो । करिब ११स्४५ मा खाना खाई हामी बिहान ३:०० बजे सकुशल घर आई पुग्यौँ ।

नेपालमा भएका यस्ता नेपाली गौरव बोकेका संस्कृति एवम् प्रकृतिले भरिपूर्ण गाउँको सबैले अवलोकन गर्नु आवश्यक छ । अहिलेका विद्यार्थीहरुलाई प्रविधिमैत्री मात्र बनाउँनु हुदैन् । तिनीहरुलाई यस्ता संस्कार, संस्कृति र प्रकृतिसँग पनि परिचित गराउनु पर्छ । खुल्ला प्रकृतिसँग रमाएर प्रत्यक्ष अनुभव गराई व्यवहारिक सिकाइ गराउनु पर्छ । अनि बल्ल भावी पिँढीको चौतर्फी विकास हुन्छ । तिनीहरुमा नेतृत्व विकास, संस्कृति र परम्परासँग गहिरो लगाव हुन्छ । तिनीहरूलाई प्रविधिक ज्ञान सँगसँगै व्यहारिक ज्ञान दिनुपर्छ ।

नेपाल एक बहुधार्मिक, बहुसांसकृतिक, बहुभाषिक , बहुजातीय परम्पराले सुसस्जित एक समृद्ध मुलुक हो । यो सबैको साझा फूलबारी हो । राज्यबाट यस्ता स्वदेशी पर्यटकीय स्थललाई प्रवर्द्धन र संरक्षण गर्नु आवश्यक छ । विकासका पूर्वाधारहरुको विकास गरी स्वदेशी तथा विदेशी पर्यटनलाई आवतजावतमा सहजता प्रदान गर्नुपर्छ । जस्ले गर्दा आय आर्जन गर्न सकिन्छ । पक्की सडक, दोहोरो गाडी गुड्ने ,बाटो फराकिलो बनाउनु पर्छ । सडक बिस्तारका लागि सरोकारवालाको ध्यान जानुपर्छ । नेपालका यस्ता पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व बोकेका विभिन्न सम्पदा, गौरवलाई नेपालमा मात्र नभई विश्वका हरेक कुनामा पुरर्याउन आवश्यक छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्