भूमिका गैरे तिमिल्सिना
सानो कुरा ठूलो बनाउँछौ
मनमनै तुष अनेक पाल्छे
हिड्न लाग्दा बाटो छेक्छौ तिमी
लडाउनमा माहिर छौ तिमी
आफ्नो समूहमा सबलाई सामेल गर्छौ तिमी
कानेखुसी गरी मजाक बनाउछौ तिमी
तर तिमीलाई के थाहा ? एक्लै मुस्कुराउन सिकेको छु भनी ।
एक्ल्याउन अनेक प्रयास गर्छौ देखेको छु ।
नभएका अनेक आरोप लागाउँछौ सुनेको छु ।
साथीसङ्गी माझ उपहास उडाउँछौ बुझेको छु ।
कसरी हुन्छ तल गिराउन चाहेका छौ, जानेको छु ।
म हिड्ने बाटोमा खाडल खन्न व्यस्त छौ तिमी
तर तिमीलाई के थाहा ? छलाङ् मार्न जानेको छु भनी ।
अनयासै सुझाव दिन जानेका छौ
आफैंले आफैंलाई महान ठानेका छौ
हरेकमा स्वार्थको नजरले हेरेका छौ
राम्रोमा नि अनेक खोट देखेका छौ
अरुका राम्रा कुरा सुन्न छाडेका छौ
कसरी गर्छौ बिना तलबका यी सारा काम
तर तिमीलाई के थाहा ? धन्यवाद दिन जानेको छु भनि ।
तिमी खिस्सी उडाउँदै गर
खुट्टा सकेको तान्दै गर
हल्लाको पछि लाग्दै गर
खुरापाती दिमाग चाल्दै गर
आमसभा गर या कोणसभा
तर तिमीलाई के थाहा ? गन्तव्य पहिल्याउन थालेको छु भनि ।
मौसम अनुसार बदलिदै गर भूमिका दुई निभाउदै गर
मुखउन्जेल ठिक्क पार्दै गर
बगलबाट छुरा धस्दै गर
तर तिमीलाई के थाहा ? हिमाल झै अटल रहन सिकेको छु भनि ।
चाप्लुसी गरेको देखेँ माहिर रहेछौ
सम्बन्ध टिकाउन त्यतिसम्म गिरेको देखेँ
अनयासै षड्यन्त्रका राजनीति बुनेको देखेँ
पद पनि एउटा बेफजुलको नसा रहेछ
आफ्नो पराइको धकलाधकेल गरेको देखेँ
सोझाको आवाज दबाउने जमात देखेँ
तर तिमीलाई के थाहा ? एक्लै हिड्न थालेको छु भनि ।
मौनता ठुलो हतियार हो ठान्थेँ
सरलता सामाधानको उपाय हो मान्थेँ
अत्यधिक सरलता पनि मजाक बन्दो रहेछ
समयले घाउमा मलम लगाउँला मान्थेँ
सबैलाई आफ्नै नजरले सही हुन् जान्थेँ
स्वार्थले भरिएर ताना बुनेको देखेँ
तर तिमीलाई के थाहा ? अनुहार पढ्न थालेको छु भनी ।
चातुरीले भरिएको परिवेशमा सही पनि गलत हुदो रहेछ ।
सत्यको आवाज दबेर गलत जग्मगाउदो रहेछ ।
आफ्नो र पराइको जालझेल मौलाइ रहेछ
बिना साथ प्रतिभा पनि निरीह बन्दो रहेछ
जमात पनि मुखदर्शक बनेको देखेँ
तर तिमीलाई के थाहा ? सही समयको प्रतीक्षा गर्न थालेको छु भनी ।


प्रतिक्रिया दिनुहोस्