भूमिका गैरे तिमिल्सिना
‘तरकारी खेती गरेर जहान पालौँला भनेको त, नहुने रहेछ । आफ्नो जीवन मात्र हो र ? उनले समे दु:ख पाउने भइन् ।’ निराशा भावमा गौँरीशङ्करले भने ।
सही थाप्दै मधुविलासले भने, ‘त्यहीँ त भन्या, जाडो गर्मी नभनेर परिश्रम गर्यो । तरकारी बेच्ने बेलामा बजार भाउ नै हुँदैन ।’
‘त्यति मात्र हो र ? बैंकको व्याज र जरिवाना अनि घर खर्च कसरी पुर्याउने ? केही नयाँ व्यवसाय गरौँ भने पनि न त पूँजी छ, न त सीप नै ! देशमा रोजगारीको त वातावरण नै भएन, झनै वैराग लाग्छ ।’ खुइ..य ! गर्दै गौँरीशङ्करले थपे ।
उनीहरु दुबैजना तरकारी खेतीमा पसिना पनि खन्याउँदै थिए , एकआपससमा दु:ख पनि बाँड्दै थिए । न त बेलामा मलखाद पाइन्छ, पानी नपाएर खङ्ग्रङ्ग भएका बोट बिरूवा हेरेर मधुविलास एकोहोरो घोरिरहे ।
उनको भावमुहार पढेका गौँरीशङ्करले भने, ‘यस्तो पाराले त छोराछोरी पढाउन पनि गाह्रो हुने भयो । हुर्केका छोराछोरी अर्काको देखासिखी गर्छन् । कसरी पुर्याउने ?’
निधारको पसिना पुछ्दै मधुविलासले मलिन स्वरमा भने, ‘युवाहरू विदेश पलायन हुँने मोह दिनानुदिन बढ्दै जानुको कारण पनि यस्तै भएर त होला ।’


प्रतिक्रिया दिनुहोस्