धर्म (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०८२, सोमबार
2 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

‘ए लौ न ,गाडीले मान्छे हान्यो ।’ आत्तिएको स्वरमा सुरेश कराए । बिहानीको समय सुरेश चोकतिर निस्केका थिए । आँखै अगाडि भएको दुर्घटना देखेर उनी त्यतैतिर दौडिए । मान्छेको भिँड जम्मा भयो ।

- Advertisement -
Ad imageAd image

‘को मान्छे रहेछ ? कस्लाई हो हानेको ? स्थिति कस्तो छ ?’ भिडबाट आवाज आयो । ‘बुढी आमा बाटो काट्न लागेकी थिइन रे ! गाडी पनि कति तीब्र गतिले चलाएको हो कुन्नि ? बाटोभरि रगतै रगत छ । अब पुलिसलाई फोन गर्नु पर्यो ।’ भिडबाट अर्को आवाज आयो ।

भिडका मान्छे सबै रमिते बनेका थिए । सबैलाई फोटो खिँच्न मात्र हतारो देखेपछि सुरेशले भने , ‘तुरुन्तै अस्पताल पुर्याउन पाए बाँच्थिन् कि ?’

भिँडबाट कसैले भन्यो , ‘लाँदा लादै बाटोमा केही हुने हो कि ? घर परिवार को हुन् ? केही थाहा छैन । पछि अप्ठ्यारो पर्ने पो हो कि ? फेरि पैसा पनि खल्तीमा छैन । पुलिसलाई खवर गरौँ ।’

सुरेश अघि सरे र भने , ‘घाइते मर्न आटिसक्यो । पहिला अस्पताल लैजाऔँ । बाँकी कुरा पछि गरौंला ।’´ उनले नै एम्बुलेन्स बोलाए । पुलिस पनि त्यतिखेरै आइपुगे । पुलिसले एम्बुलेन्सभित्र घाइतेलाई राख्यो र अस्पतालतिर दौडायो ।

अवस्थाको मूल्याङ्कन गर्दै सुरेशले मनमनै सोचे, ‘आजकलका मानिसहरू मानवीय धर्मभन्दा पनि प्रचारबाजीमा बढी रमाउने भएका किन होला ?’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्