भूमिका गैरे तिमिल्सिना
खुट्टा लर्बराउँदै घरमा छिरेको लोग्नेलाई देखेर स्वास्नीले आक्रोस पोखी, ‘हैन, कति खान सकेको हो, यो झोल पनि ? लबस्तरोले दिउँसै धोकेर पो मरेछ । छि ! कसैले देखेभने नि के भन्लान् ?’
उसले ठाडै जवाफ दियो, ‘हैन , खाएँ त आफ्नै बाउको खाएँ। तलाई के को टाउको दुख्यो हँ ?’
सम्झाउने लवजमा ऊ बोली, ‘घरमा जवान छोरी , बिहेको लायक भाकी छे । उसको मनोविज्ञानमा कस्तो असर पर्ला ? अलिकति पनि सोच्नु पर्दैन ? ‘
ऊ दलानमै डङ्ग्रङ्ग लडेर बर्बरायो, ‘घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन । के गर्नु ? ‘
‘तिम्रो चालामाल देखेर छोरी बाहिर निस्किन पनि मान्न छाडिसकी। बाहिर निस्कियो कि जड्याहाको छोरी भन्छन् रे ! घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै हाड घोट्नु पर्ने भयो । हरे ! मेरो भाग्य !’ ऊ गनगनाउन थाली ।
ऊ जुरूक्क उठ्यो र ठूलो स्वर गर्यो, ‘नाथे, त्यसै ठूली भएकी छे । खान , लाउन पाकै छस् क्यारे ! तिमीहरुलाई सबै चिज पुर्याएकै छु । त्यसै जान्ने हुँदी रहिछे बडा !’
उसले उदास स्वरमा भनी, ‘कोही माग्न आए भने पनि तपाईंको यो लतले छोरीको विवाहमा वाधा पुर्याउँछ कि भनेर अत्यास लागेको छ । आफ्नो जिम्मेवारी त बुझ्नु पर्यो नि !’
ऊ जङ्गियो, ‘अरुका स्वास्नीले लोग्नेलाई कति माया गर्छन् । तँ एउटी चाहिँ मलाई देख्यो कि बिग्रिएको रेडियोझै जतिखेर पनि क्यारक्यार क्यारक्यार गर्न जान्या छेस् । होइन ?’
राम काका कराउँदै प्रवेश गरे, ‘हैन, बाहिरै बसेर जोईपोइ के को गन्थन हो ? छोरीलाई केटोको कुरो लिएर म आएको , बिहे गर्ने हो नि ? के छ , बिचार ?’
उसले आत्तिदै सोधी ‘काका, केटाको रक्सी पिउने लत त छैन नि ? अलि राम्रोसँग बुझ्नू है !’


प्रतिक्रिया दिनुहोस्