एक लाख राशीको बैंकिङ पत्रकारिता पुरस्कार स्थापना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ  – बैंकिङ क्षेत्रमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने उद्देश्यले एक लाख राशीको पुरस्कार स्थापना गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो ।

‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन हुनेछ । सोही कार्यदलले पुरस्कार वितरण गर्नेछ ।

यो वर्षको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ गते नाफिज वार्षिकोत्सवको समयमा प्रदान हुनेछ । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रवद्र्धन गर्नेछ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाले भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्नेतर्फ प्रयासरत रहने पनि बताएका छन् ।

सो अवसरमा नाफिजका अध्यक्ष ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गरेका छन् । अर्थतन्त्रमा मिडियाको भुमिका निजी क्षेत्रको प्रवद्र्धन सँगै लगानीको वातावरण बनाउँदै आर्थिक वृद्धिमा टेवा दिने भएको जिकिर गर्दै उनले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कार महत्वपूर्ण हुने बताए ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

Array