स्मार्टसेल धितो प्रकरण: एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं – काठमाडौं जिल्ला अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । स्मार्ट टेलिकम प्रालि (स्मार्टसेल) को धितो लिलामसम्बन्धी मुद्दामा बिहीबार भएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले पाण्डेलाई थुनामा राख्न आवश्यक नदेखिएको निष्कर्ष निकाल्दै धरौटीमा छाड्न अनुमति दिएको छ । यो आदेशसँगै सीईओ पाण्डेलाई कारागारबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने र बैंकको नियमित कार्यसम्पादनमा फर्किने बाटो खुलेको छ ।

- Advertisement -
Ad image

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति नवीकरण नभएपछि सरकारको नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्तिलाई बैंकले नियमविपरीत लिलामी गरी कर्जा असुल गरेको आरोप लागेको छ । सरकारको अनुमतिबिना मिलेमतोमा धितो बिक्री गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयले बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीईओ ज्योतिप्रकाश पाण्डेसहित २२ जनालाई प्रतिवादी बनाएर ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

यसअघि गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका सीईओ पाण्डेलाई सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको सो आदेशपछि थुनामुक्त भएका पाण्डेविरुद्ध सरकारले जिल्ला अदालतमा पुनः मुद्दा दर्ता गराएको थियो, जसमाथि आज अन्तिम थुनछेक बहस सकिएको हो ।

अदालतको यस आदेशले बैंकिङ वृत्तमा निकै चासोका साथ हेरिएको यो मुद्दामा तत्कालका लागि सीईओ पाण्डेलाई ठूलो राहत मिलेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्