काठमाडौँ – उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुरको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले थुनछेक बहसपछि शेरचनलाई हिरासतमा राखेरै मुद्दाको अनुसन्धान र कारबाही अघि बढाउन यस्तो आदेश दिएको हो।
नेपाल सरकार वादी रहेको यस मुद्दामा शेरचनमाथि आफ्नो पदीय अधिकार र जिम्मेवारीको दुरुपयोग गर्दै बैंकको स्रोत तथा निक्षेपलाई गैरकानुनी रूपमा कर्जा प्रवाह गरेको अभियोग लगाइएको छ। अभियोगपत्रका अनुसार उनले एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा उपलब्ध गराउँदा बैंकको आन्तरिक नीतिविपरीत धितो सुरक्षण (दृष्टिबन्धक रोक्का) नै नराखी कर्जा स्वीकृत गरेका थिए, जसबाट बैंकको हित प्रतिकूल भई सम्पत्तिमा ठूलो नोक्सानी पुगेको उल्लेख छ।
यस बैंकिङ कसुर प्रकरणमा उनीविरुद्ध ४८ करोड रुपैयाँ बिगो कायम गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम सजायको माग गरिएको छ। अदालतको यो आदेशसँगै तत्कालीन सीईओ शेरचन मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि कारागार चलान भएका छन्।


प्रतिक्रिया दिनुहोस्