काठमाडौँ – गोरखाको उत्तरी हिमाली क्षेत्रमा अवस्थित बूढीगण्डकी नदीमा अचानक आएको विध्वंशकारी बाढीको मुख्य कारण भीषण हिमपहिरो र त्यसले सिर्जना गरेको प्राकृतिक बाँध विष्फोट भएको सरकारले प्रारम्भिक निष्कर्ष निकालेको छ।
जल तथा मौसम विज्ञान विभागसहित सम्बन्धित सरकारी निकाय र विज्ञहरूले गरेको भू-उपग्रह (स्याटेलाइट) तस्बिरहरूको गहन विश्लेषणपछि यो तथ्य बाहिर आएको हो।
अध्ययन अनुसार, चुमनुब्री गाउँपालिका–६ स्थित सिरीङ्गे हिमाल आसपासको झण्डै ४ हजार मिटर उचाइको हिमाली क्षेत्रबाट ठूलो परिमाणमा हिमपहिरो र चट्टानी गेग्रान खसेको पाइएको छ। प्रभावित क्षेत्रमा उल्लेखनीय वर्षा नभएको अवस्थामा पनि अचानक लेदोसहितको भीषण बाढी आउनुले हिमाली क्षेत्रको भौगर्भिक हलचललाई पुष्टि गरेको छ।
माथिबाट खसेको उक्त हिमपहिरो र गेग्रानको थुप्रोले बूढीगण्डकीको सहायक स्यर खोला र उइनगुलुङ खोलाको बहावलाई केही समय पूर्ण रूपमा थुनेर अस्थायी ताल बनाएको र सो प्राकृतिक बाँध अचानक फुट्दा तल्लो तटीय क्षेत्रमा भीषण आकस्मिक बाढी (Flash Flood) आएको विज्ञहरूको भनाइ छ।
बाढीका कारण चुमनुब्री र धार्चे गाउँपालिकाका सल्लेरी तथा जगत बजारसहितका नदी तटीय बस्तीहरू नराम्ररी प्रभावित भएका छन्। बाढीले आरुघाट–सोती जोड्ने पक्की पुल, आधा दर्जन झोलुङ्गे पुल र जलविद्युत् आयोजनाका भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको छ।
जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रको तापक्रममा आएको उतारचढाव र कमजोर भू-बनोटका कारण यस्तो विपद् निम्तिएको हुनसक्ने औंल्याउँदै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान आग्रह गरेको छ।





प्रतिक्रिया दिनुहोस्