प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको आकस्मिक भीषण बाढी र पहिरोपछि प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण कार्यलाई तीव्रता दिइएको जानकारी दिएका छन्।
बाढीको सूचना प्राप्त हुनासाथ सरकारले तल्लो तटीय क्षेत्रका नागरिकको सुरक्षाका लागि द्रुत गतिमा कदम चालिसकेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र जोखिमयुक्त पुल तथा सडकहरूबाट आवतजावत नगर्न विशेष आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौजलाई हवाई तथा स्थल दुवै मार्गबाट व्यापक रूपमा परिचालन गरिएको छ। प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाका तीनवटा विशेष फौज (स्पेसल फोर्स) सहित १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी कुल ४३७ जना तालिमप्राप्त सुरक्षाकर्मीहरू स्थलगत रूपमा खटिएका छन्।
यसका साथै, काठमाडौँमा तैनाथ रहेको संयुक्त शीघ्र प्रतिक्रिया टोलिलाई समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा पठाइएको छ। बाढी र पहिरोको उच्च जोखिममा परेको गोरखाको जगत र सल्लेरी इलाकाबाट हालसम्म ६ जना नागरिकको हेलिकप्टरमार्फत सकुशल हवाई उद्धार गरिएको छ भने अन्य ४८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बाढीका कारण झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल र निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको शिविर क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको बताएका छन्।
बाढीले अवरुद्ध बनाएका क्षतिग्रस्त भौतिक पूर्वाधारहरूलाई पुनः सुचारु गर्नका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको प्राविधिक टोली बेलीब्रिजको सम्भाव्यता अध्ययन गर्न कार्यक्षेत्रमा प्रस्थान गरिसकेको छ।
सरकारले प्रभावित क्षेत्रका नागरिकहरूको सहजताका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको नम्बर १२३४ र जिल्ला प्रहरी कार्यालय गोरखाको नम्बर ९८५६०६११९० लगायतका आपत्कालीन सम्पर्क नम्बरहरू समेत सार्वजनिक गर्दै निरन्तर राहत सामग्री ढुवानी भइरहेको स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्