भूमिका गैरे तिमिल्सिना
‘आज ठूलै नेताको हवाइजहाज दुर्घटनामा ज्यान गएछ ।’ सामाजिक सञ्जाल भरी छ्यापछ्यापी हार्दिक श्रद्धाञ्जलीको ओइरो थियो ।
हल्ला चल्यो, ‘बाँचुन्जेल केही गरेनन् क्यारे ? आफ्नै भुँडी भर्दा ठिक्क , देश र जनताको बारेमा केही सोचेनन् ?’ भिडबाट ठुलै आवाज आयो ।
यमलोकमा पनि कचरी चल्यो । यमराजले सिंहासनबाट चित्रगुप्तलाई सोधे ।
‘के छ, आजको खबर, को- को आएका छन् पृथ्वीबाट ?’ चित्रगुप्त ! ‘ठूलो भुँडी भएको ठूलै नेता र साधारण ख्याउटे आएका छन् ।’
‘ल ! ल ! तिनीहरूले के के गरेका रहेछन् ? फाइल पल्टाएर राम्रोसँग हेर्नुस् त ।’ यमराजले भने
चित्रगुप्तले सबै कुरा बुझे, ‘ठुलो भुँडी भएको नेताले घुस धेरै खाएको, भिडको प्रकृति हेरेर भाषण गरेको, विकास र निर्माणका काम नगरेको, रेकर्ड निकाले ।’
ख्याउटेको फाइल पल्टाई हेर्दा, ‘सोझो, इमान्दार, दु: खी किसान रहेको बुझाए ।’ यमराजले सबै नियाले, ‘पृथ्वीको वस्तुस्थिति बुझ्न स्वयम् भेष बदलेर जाने निर्णय गरी पृथ्वीलोक झरे ।’
‘बाटोघाटो, धुवाँधुलो, नेता र सर्वसाधारणको जीवनशैली नजिकैबाट हेरी पुनः स्वर्गलोक सवारी भए ।’ यमराजले निसाफ गरे,’ठूलो भुँडी भएको नेतालाई नर्क पठाऊ र ख्याउटेलाई स्वर्ग पठाऊ ।’


प्रतिक्रिया दिनुहोस्