पाखे (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०८१, मंगलवार
1 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

‘हैन, यत्रो ठूलो पार्टीमा आउने यो भिखारी को हो ?’ म्यानेजरले आफ्नो सहकर्मीसंग सोधे ।

- Advertisement -
Ad image

उनले आफू अनभिज्ञ रहेको बताउँदै भने, ‘निम्ता पठाउँदा पनि मानिसको स्तर हेर्नु पर्छ नि ! आखिर मालिकको छोराको बिहे हो ।’

मेनेजरले थपे, ‘छिटै गलहत्याउने काम गरौँ । पाहुना आउने बेला भैसक्यो ।’

ऊ भने कोहीसंग नबोली सरासर खाना लिएर टेबलमा बस्यो कपाकप खान थाल्यो । म्यानेजर उसको छेउमा गए र हकारे, ‘तँ को हो ? चिन्नु न जान्नुको मान्छे आएर यत्रो भव्य पार्टी बसेर खान लाज लाग्दैन, पाखे ? यहाँबाट गइहाल् ।’

ऊ रन्कियो, ‘को पाखे ? खाइरहेको मान्छेलाई गइहाल भनेर मेरो अपमान गर्ने तिमी पो पाखे ।’

म्यानेजर पड्कियो, ‘लबस्तरो, बिना निम्तो आउने मान्छेको अझ यत्रो फुर्ती ?’

खल्तीबाट झिकेर निम्तो कार्ड देखाउँदै ऊ जङ्गियो, ‘कुरै नबुझी हकार्ने ? मालिक विदेशमा भएकोले ‘मलाई जाऊ’ भनेर पो म आएँ नत्र यस्ता जङ्गलीको अनुहार त हेर्नु पर्ने थिएन ।’

म्यानेजर अली नरम भयो र भन्यो, ‘भव्य पार्टीमा आउँदा अलि ढङ्गको पहिरन त लगाउनु पर्ने थियो नि !’

उसले हाँस्दै भन्यो, ‘महाशय, लुगा भनेको लाज छोप्ने हो । कोट पाइन्ट लगाउँदैमा सभ्य हुने नत्र पाखे ?’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्