भूमिका गैरे तिमिल्सिना
‘ओहो ! आज त एकछिन फुर्सद नै हुने भएन । कता कता भ्याउने हो ?’ एकाबिहानै मिटिङको तालिका हेर्दै उनले योजना बनाए ।
चिटिक्क परेर उनी निस्कन लागेको देखेर मैले भनेँ, ‘बिहानै बिहानै कताको साइत हो ?’ उनले हतारो देखाउँदै भने, ‘आज खान नपर्खिनू , म उतै खान्छु । दिनभरिमा ४ वटा मिटिङ भ्याउनु छ ।’
मेरो पारो तात्यो । बेस्सरी रन्किदै भनेँ, ‘दुबैजना मिलेर आज त कोदो रोपौँला भनेकी थिएँ । सबैको कोदो हरियो भइसक्यो । हाम्रो चाहिँ अत्तोपत्तो छैन ।’
‘नकराऊ न लाटी ! तिम्रो बुढाको कामै त्यस्तै ? फुर्सदका दिन सहयोग गरौँला नि ! रिसाएर हुन्छ र ? ‘ भन्दै उनी बाहिरिए ।
म एक्लै फत्फताउँन थालेँ, ‘सधैँ नै मिटिङ् र कामको बहानामा बाहिरिनेसँग त म हैरान भएँ। होइन, घरका सबैलाई हुँदा मेरो मात्र किन यति साह्रो टाउको दुख्ने हँ ? ह्या, म पनि आनन्दले बस्छु ।’
केही बेर चुप लागेर बसेँ तर फेरि भुट्भुटो भयो । लाग्यो, ‘हैन , मैले पनि धर्म छाडे भने त बर्बाद हुन्छ । अहिले छोराछोरीले भोक लाग्यो आमा ! भन्छन् । वस्तुभाउ कराउन थाल्छन् ।’
म कामकै चटारोमा अल्मलिरहेँ । मनमनै सोचेँ, ‘यिनीहरुको मिटिङ उपलब्धिमूलक हुनु र देशमा परिवर्तन हुनु एकै रहेछ ।’


प्रतिक्रिया दिनुहोस्