भाग्य ! (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०८१, आईतवार
2 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

‘उजेली , ए उजेली ! हैन , कहाँ मरी यो ? बस्तुको भकारो सोर्नु, दाना पानी खुवाउनु , एकछिन पछि भाइलाई स्कुल पुर्याउनु काम कत्ति छ ?आफूलाई मेलामा जान ढिला भइसक्यो ।’ आमा कराउनु भयो ।

- Advertisement -
Ad imageAd image

हस्याङफस्याङ गर्दै उजेली पधेँराबाट पानी लिएर आई । आमाले उसलाई काम अह्राएर मेलामा जानुभयो । उसले हतार हतार गरेर सबै काम सकी अनि भाइलाई विद्यालय पुर्याउँन गई । सधैँझैँ आज पनि गुरुले पढाएको कुरा उसले लुकेर सुनी । त्यो देखेर गुरु साँझपख उजेलीको घरमा पुग्यो भयो ।

उसकी आमालाई भेटेर भन्नु भयो , ‘उजेली टाठी बाठी छे । विद्यालय भर्ना गरिदिनु पर्छ ।’ उहाँले झर्किदै भन्नुभयो, ‘मास्टरसाप, अर्काको घर खाने छोरीको जातलाई किन पढाउने ? बरू कुलको इज्जत धान्न काम पो सिकाउने हो । राम्रो घर पाए बिहे गरेर पठाइ दिने हो ।’
गुरुले सम्झाउनु भयो, ‘अर्काको घरमा जाने छोरीलाई आत्मनिर्भर बनाउन त झन पढाउनु पर्छ नि !’

आमा र गुरूका विवाद सुनिरहेकी उजेलीले मनमनै सोची, पढ्नका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ । आफ्नो त कर्म नै खोटो !’

उसैबेला उजेलीलाई हेर्न भनेर मामाले केटो लिएर आउनु भयो । कुराकानी मिल्यो । बिहेको दिन निश्चित हुँदै थियो , केटा जुरूक्क उठ्यो र भन्यो, ‘मेरो एउटा चाहाना छ , त्यो भए मात्र बिहे गर्छु ।’ आमा र मामाले भयभित हुँदै सोधे , ‘कस्तो चाहना हो ?’

उसले गम्भीर हुँदै भन्यो, ‘मेरी श्रीमती भएपछि यिनले कम्तीमा पनि स्नातकसम्म पढ्नु पर्छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्