कपिलवस्तु र सप्तरी घटनामा प्रशासनको दोहोरो मापदण्डप्रति राष्ट्रिय एकता दलको आपत्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०८३, सोमबार
3 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय एकता दलले कपिलवस्तुको कृष्णनगर र सप्तरीको सुरुङ्गा नगरपालिकामा हालै भएका घटनामा गृह प्रशासन तथा प्रहरीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ।

दलका राष्ट्रिय अध्यक्ष विनय यादवद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा कृष्णनगरमा दुर्गा मूर्ति विसर्जनका क्रममा भएको भनिएको घटनालाई लिएर पाँच जना स्थानीय युवालाई पक्राउ गरिएको विषयमा प्रशासनको कार्यशैली पूर्वाग्रही भएको आरोप लगाइएको छ।

- Advertisement -
Ad image

दलका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले २०८३ कात्तिक ७ गते सामाजिक सञ्जालमा राखिएको विषय तथा अस्पष्ट आरोपका आधारमा बिक्की भनिने बिकाश यादव, गान्धी चौहान, सुनिल चौहान, आर्यन मिश्र र हरि नारायण पाललाई नियन्त्रणमा लिएको हो। राष्ट्रिय एकता दलले उनीहरूमाथि लगाइएको आरोप झुटा तथा कपोलकल्पित भएको दाबी गर्दै पाँचै जनालाई तत्काल बिनाशर्त रिहा गर्न माग गरेको छ।

यसैगरी, सप्तरीको सुरुङ्गा नगरपालिका–९, टिकुलियामा दुर्गापूजाको मूर्ति विसर्जन गरी फर्कने क्रममा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको भनिएको घटनाप्रति पनि दलले गम्भीर चिन्ता व्यक्त गरेको छ।

पीडित परिवारले किटानी जाहेरी दिइसकेको र प्रहरीले अभियुक्तहरूको पहिचान भइसकेको स्वीकार गरेको अवस्थामा समेत आरोपितहरू पक्राउ नपर्नु गम्भीर विषय भएको राष्ट्रिय एकता दलको भनाइ छ। दलले यस विषयमा प्रशासनको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै कुनै पनि धार्मिक वा राजनीतिक प्रभावका आधारमा अभियुक्तलाई संरक्षण दिन नहुने जनाएको छ।

विज्ञप्तिमा अपराधीको कुनै धर्म, जात वा राजनीतिक दल नहुने उल्लेख गर्दै कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिइएको छ। कुनै व्यक्तिको धार्मिक, जातीय वा राजनीतिक पृष्ठभूमिका आधारमा राज्यले संरक्षण वा उन्मुक्ति दिन नहुने दलको धारणा छ।

राष्ट्रिय एकता दलले सरकार, गृह प्रशासन तथा सम्बन्धित प्रहरी कार्यालयसमक्ष तीनबुँदे मागसमेत अघि सारेको छ। कपिलवस्तुमा पक्राउ परेका पाँचै जनालाई तत्काल रिहा गर्न, सप्तरीको टिकुलिया घटनामा किटानी जाहेरी परेका अभियुक्तहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडित महिलालाई निःशुल्क स्वास्थ्य उपचार, सुरक्षा र उचित क्षतिपूर्तिको व्यवस्था गर्न दलले माग गरेको छ।

दलले प्रशासनले आफ्नो भनिएको ‘दोहोरो मापदण्ड’ नसच्याए तथा पीडितलाई न्याय र निर्दोषलाई रिहाइ नगरे चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

राष्ट्रिय एकता दलका राष्ट्रिय अध्यक्ष विनय यादवले जारी गरेको विज्ञप्तिमा राज्यका सबै नागरिकलाई समान कानुनी व्यवहार सुनिश्चित गर्न तथा घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र निर्दोषको संरक्षण गर्न सरकारसँग आग्रह गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्