काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनले खेलेको भूमिका र विचारलाई अवमूल्यन भए देशमा पुनः नयाँ राजनीतिक परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीले इतिहासमा खेलेको भूमिका र त्यसले स्थापित गरेका विचारको महत्त्वलाई कम आँक्न खोजिएको बताएका हुन् ।
विचार, सिद्धान्त र बलिदानका आधारमा स्थापित राजनीतिक उपलब्धिलाई कसैले पनि सहजै मेटाउन नसक्ने उनको भनाइ थियो । माओवादी आन्दोलनको सुरुवाती अवस्थादेखि गणतन्त्र स्थापनासम्मको यात्रा स्मरण गर्दै उनले भने, “हामीले जनयुद्ध सुरु गर्दा जम्मा ६० जना थियौँ । त्यही सङ्ख्या बढ्दै ६ सय, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो । र, अन्ततः नेपाल गणतन्त्र बन्यो ।”
माओवादी आन्दोलनको योगदानलाई बेवास्ता गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले केही समयपछि मुलुकमा फेरि नयाँ परिस्थिति निर्माण हुने विश्वास व्यक्त गरे ।
यसैबीच, प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय महत्त्वका विषयमा सहकार्य गर्न सकिने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको दाबी गर्दै एमाले सुशासनको पक्षमा नदेखिएको आरोप लगाए । यी विषयले दुवै दलको राजनीतिक चरित्र फरक रहेको उनको भनाइ थियो ।
प्रचण्डले आफू नेतृत्वको राजनीतिक अभियानले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिइरहेका बेला संसद्का दुई ठूला दलबीच गठबन्धन बनेर आफूलाई सरकारबाट हटाइएको दाबीसमेत गरे ।
लोकतान्त्रिक व्यवस्थामा संसद्का पहिलो र दोस्रो ठूला दल मिलेर सरकार सञ्चालन गर्नु संसदीय अभ्यासको मर्मविपरीत रहेको प्रचण्डको टिप्पणी थियो ।


प्रतिक्रिया दिनुहोस्