काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राष्ट्रिय हित र स्वाभिमानमा आँच पुग्ने कुनै पनि गतिविधि आफूहरूलाई स्वीकार्य नहुने र त्यस्तो अवस्थामा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन्।
कात्तिक ७ गते शनिबारदेखि पार्टीले देशव्यापी रूपमा सुरु गरेको दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ को भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
आफ्नो सम्बोधनका क्रममा नेता नेपालले राष्ट्रियताको मुद्दालाई सबैभन्दा उच्च महत्त्व दिँदै राष्ट्रिय स्वाभिमानको रक्षा, संविधानको संरक्षण, र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि यो अभियानमार्फत जनतामा व्यापक चेतना जगाइने स्पष्ट पारे।
उनले काम गर्ने क्रममा राजनीतिक दल र नेताहरूबाट कमी-कमजोरी हुन सक्ने कुरालाई आत्मसाथ गर्दै ती गल्तीहरूमा आत्तिनुको सट्टा गम्भीर समीक्षा र सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले देशका लागि केही पनि गरेनन् भनी बजारमा फैलाइएका नयाँ भाष्य र आरोपहरूलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिँदै उनले नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त नागरिक उपलब्धिलाई संस्थागत गर्ने र वर्तमान संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी कम्युनिस्ट पार्टीकै काँधमा रहेको दाबी समेत गरे।


प्रतिक्रिया दिनुहोस्