काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीद्वारा सञ्चालित ‘राष्ट्रिय जागरण अभियान’मा सक्रिय सहभागिता जनाउन आम नागरिकसमक्ष अपिल गरेका छन्।
शनिबार अभियानको उद्घाटन गर्दै संयोजक प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्नुका साथै महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरङ्कुशता र अराजकताको विरोधमा यो अभियानमा जोडिन आह्वान गरे।
अहिले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले भने, “ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ।
महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ। किसान, मजदुर, उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्।”
विगतका कामको इमानदारीपूर्वक समीक्षा गरी गल्ती-कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास पुन: बलियो बनाउनुपर्ने दायित्व रहेको उनले बताए। सरकारमा रहँदा आफूहरूले सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाएका सकारात्मक कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्ने प्रतिबद्धता उनले जनाए।
यस अभियानमार्फत स्थानीय, प्रदेश र संघीय तहमा जनताका समस्या पुर्याएर समाधानका लागि निरन्तर पहल गरिने प्रचण्डले स्पष्ट पारे। “हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो। त्यसैले जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे पुन: जनतालाई नै जानकारी दिइनेछ,” उनले भने।
नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशभर ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्