काठमाडौँ – हिन्दूहरूको महान् चाड दशैँ बिदापछि खुलेको धितोपत्र बजारको पहिलो कारोबार दिनमा सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा खुम्चिएको हो।
दशैँबिदा अघिका लगातार सात कारोबार दिनसम्म बढिरहेको बजारमा चाडपर्व सकिएलगत्तै पहिलो दिनमै ब्रेक लागेको छ। बजार परिसूचक घटे पनि यस दिन लगानीकर्ताहरूको उत्साहजनक सहभागिताका कारण कुल कारोबार रकम भने ४ अर्ब रुपैयाँ माथि पुगेको छ।
सोमबार नेप्सेमा कुल ३४१ वटा धितोपत्रको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड रुपैयाँभन्दा बढीको कारोबार रेकर्ड भएको छ। यो कारोबार रकम दसैँ बिदा अघिको अन्तिम कारोबार दिनको तुलनामा भने केही कम हो, उक्त दिन बजारमा ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो।
सोमबारको कारोबारमा आएका कम्पनीहरूमध्ये मिश्रित नतिजा देखिएको छ। कुल कम्पनीहरूमध्ये ९९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, बाँकी ६ वटा कम्पनीको सेयर मूल्य भने अघिल्लो मूल्यमै स्थिर रहन सफल भयो।
आजको बजारमा बेनी हाइड्रोपावर प्रोजेक्टका सेयरधनीहरूले सर्वाधिक १४.९९ प्रतिशत नाफा कमाउँदै शीर्ष स्थान ओगटेका छन् भने चिर्खाखोला जलविद्युतको सेयर मूल्यमा ७.९२ प्रतिशतको गिरावट आएको छ।


प्रतिक्रिया दिनुहोस्