गुरुङ समुदायको बाहुल्यता रहेको ल्वाङ गाउँको सुन्दरता !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ चैत्र २०८१, मंगलवार
6 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

गुरुङ समुदाय मूलवासी, भूमिपुत्र मङ्‌‌गोल वर्गको समुदाय, यो समुदाय मुख्यतय: गण्डकी प्रदेशमा बसोबास गर्दछन् । खासगरि लमजुङ, कास्की, तुनहुँ, गोर्खा, पर्वत, स्याङजा र अन्नपूर्ण हिमश्रृङ्‌खलाको आसपास मनाङमा गुरुङ समुदायको बाहुल्यता रहेको पाइन्छ । कोही बाग्लुङ, ओखलढुङ्‌गा र ताप्लेजुङतिर माछापुच्छ्रे हिमालको आसपास बसोबास गर्दछन्। थोरै सङ्ख्यामा सिक्किम र भुटानमा समेत बसेको अनुमान गर्न सकिन्छ । तिब्बतको दक्षिणी जिल्लाहरुमा गुरुङ जाति उत्पत्ति भएको मानिन्छ भने केही विद्वानहरूले गुरुङहरू मङ्‌‌गोलियाबाट बसाइसराई भई आएका हुन् भनि आफ्नो मत व्यक्त गरेको पाइन्छ ।

- Advertisement -
Ad imageAd image

समुन्द्री सतह‌बाट करिब १४७० मिटरको उचाइमा अवस्थित ल्वाङ गाउँ जैविक हिमालयन चिया खेतीका लागि प्रसिद्ध मानिन्छ । पोखरासँग जोडिए‌को माछापुच्छ्रे गाउँपालिका – ८ स्थित मर्दी खोलाको शिरमा माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाको काखमा हिमाल जस्तै मिलेको बस्ती हो, ल्वाङ गाउँ !

गुरुङ संस्कृति झल्कने गुरुङ समुदाय भएको अत्यन्तै मनमोहक छ,ल्वाङ गाउँ ! के तपाई घुम्नु भएको छ ? यदि छैन भने हामी सरर घुमेको महसुस गरौं है त !

ढुङ्‌गाका छाना, मौरीका घारहरु, आँगन बाटोमा ढुङ्‌गाले छापिएका, एकै किसिमका, एकै नाशका झुरुप्प बस्ती, जुन घर हेर्दा पनि उस्तै लाग्ने, उतिकै आकर्षक, लोभलाग्दा र मनमोहक छन् । सेतो र गेरू रङ पोतिएका गुजुमुज्ज गुरुङ बस्ती ,कलात्मक वास्तुकला झल्कने घर, झ्याल, ढोकाले पनि सबैको ध्यान खिचिरहेको हुन्छ !

गण्डकी प्रदेशमा रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका – ८ मा रहेको ल्वाङ गाउँ ! पोखराको हरिचोकबाट २० किलोमिटरको दूरीमा रहेको छ । त्यहाँ जानका लागि पोखराको टुडीखेल स्थित हरिचोकबाट हेम्जा, मिलनचोक, मर्दीपुल, खानेपानी, भेडाबारी, खोरामुख, भाङखोला हुदै करिब १ घण्टा ३० मिनेटमा ल्वाङ गाउँ पुगिन्छ। शहरमा गर्मी महसुस हुदा, रमाइलो गर्न, अनावश्यक तनाव भुलाउन, थकित व्यस्त जीवनबाट पुनर्ताजगी महसुस गर्न मान्छेहरू त्यहाँको प्राकृतिक र सांस्कृतिक आनन्द लिन जान्छन् । माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमश्रृङ‌खलाको दृश्यावलोकन गर्न, त्यहाँको शितलपन र सुन्दरताको आनन्द उठाउन , १ हजार ७ सय रोपनी क्षेत्रफलमा फैलिएको चियाबगान हेर्ने, चैत, वैशाखमा फुल्ने लालीगुराँस हेर्न पनि आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दछ।

ढुङ्गाले छाएका पुराना मैलिकघरहरू, ढुङ्‌गा र काठको बढी प्रयोग भएका पुरानो शैलीमा निर्माण भएका कलात्मक घरका आँगन, बाटोमा ढुङ्गा छापिएका, गुजुमुज्ज परेको मनमोहक रहेछ, ल्वाङ गाउँ !

आन्तरिक वा बाह्य पर्यटकहरू गाउँ‌मा प्रवेश गर्दा त्यहाँका गुरुङ समुदाय र संस्कृति झल्कने गरी महिलाहरुले फूलबुट्टे टिसर्टमाथि रातो स्वेटर, मजेत्रो, लुङ्‌गीका साथै नौगेडी माला लगाएर एउटै पोशाकमा अविर, टीका. र फूलका माला‌ (गुच्छा) ले स्वागत गरेको देख्दा लाग्छ, आहा ! गुरुङ, सभ्यता र संस्कृतिको अनुपम उदाहरण हो, ल्वाङ गाउँ ! गुरुङ सत्कार त्यहाँको संस्कृति, परम्परा, रहनसहन, चालचलन, बोलीचाली, जीवनशैली आकर्षक रहेको छ ।

२०६७ सालमा सामुदायिक होमस्टेको सुरुवात भएपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको चाप बढन थालेका कारण ल्वाङ गाउँ प्रचारमा आएको हो भन्ने स्थानीयको भनाइ रहेको छ ।

गुरुङ सभ्यताको धरोहर, इमान्दारिताको पराकाष्ठा बोकेको सभ्यता, आतिथ्य सत्कारमा रमाउने, मेलमिलाप र सहयोगी भावना बोकेका पुस्तैदेखिको सभ्यतालाई निरन्तरता दिएकाले पनि जो कोही त्यहाँ पुग्छन् , तिनीहरूको शारीरिक, मानसिक थकान छिनभरिमै हराएको पत्तै
पाउँदैनन् । त्यहाँको सुन्दर प्राकृतिक दृश्य र सांस्कृतिक परिवेशले जो कोहीको पनि मन लोभ्याउँछ, आतिथ्य सत्कारमा आफैले उत्पादन गरेका चिजलाई प्रोत्साहन गर्नाले पनि स्थानीय उत्पादनमा वृद्धि र खपत भएको महसुस हुन्छ । लाग्छ, कि हामीले पनि हाम्रो देशमा केही गर्नुपर्छ भन्ने भावना सहजै दिलाउनुका साथै संस्कार र संस्कृति जोगाउनमा उर्जाशील बन्नुपर्छ भन्नेमा ध्यानाकर्षण गर्दछ ।

होमस्टेको व्यवस्थापन व्यवसायिक शुरुवात हुनुभन्दा अगाडि २०५३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा चियाखेतीको शुरुवात गरिए‌को रहेछ । चिया खेतीले अहिले व्यवसायिकता पाएको छ। अन्नपूर्ण चियाबगान अहिले प्रचार भई व्यवसायिक रूपमा सबैको रोजाइमा पर्न सफल भएको पाइन्छ। होमस्टेबाट आधाघण्टाको पैदल (हाइकिङ) पश्चात अन्नपूर्ण चियाबगानबाट हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छन ।

हाल ल्वाङ गाउँ बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटक घुम्न जाने क्रम बाक्लिएको छ। पर्यटकको बाक्लो चाँपले गर्दा पनि यात्रामा जानुपूर्व नै बासकालागि होमस्टेको बुकिङ गर्नुपर्ने व्यवस्थापकले बताए । प्रमुख व्यवसायमा पर्यटन (होमस्टे) सैन्य सेवा, वैदेशिक रोजगार, जैविक चिया कारखाना स्थानीय वस्तु उत्पादन र बिक्री, कृषि महत्वपूर्ण मानिन्छन् ।

स्थानीय उत्पादन मौलिक संस्कृति, ठेठ नेपाली खाना, सांस्कृतिक कार्यक्रम, गुरुङ रहनसहन, भेष भूषा, चालचलन, घाटुनाच, सोरठी नाच, मारुनी नाच लगायत त्यहाँका अन्य विशेषताहरु पनि रहेका छन् ।

नेपालमा रहेका यस्ता प्राकृतिक, सांस्कृतिक महत्त्व बोकेका स्थानको प्रचार गरी आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याई गतिलो आर्यआर्जनको स्रोत बनाउन सकिन्छ । भौगोलिक परिवेश कुनै पनि जाति समुदायको जीवनशैली ,रहनसहन , भाषाशैली, चालचलन, संस्कार र संस्कृतिलाई नजिकैबाट नियाल्यौ भने अनि मात्र त्यससँग गहिरो लगाव हुन्छ । वस्तुगत स्थूल कुराहरु बुझ्न, गहिरिएर अध्ययन गर्न, अवलोकन गर्न, शोध खोज गर्नुपर्छ । विविध जात, धर्म , भाषा ,संस्कार र संस्कृति भएको हाम्रो देशमा सबैलाई उत्तिकै, समान महत्व दिनुपर्छ । विविधतामा एकता भएको मुलुकमा सबैलाई समान महत्त्व दिई यस्ता पहिचान दिलाउने सभ्यताहरुको प्रचार गर्नुपर्छ । राज्यपक्षबाट पनि विभिन्न ठाउँमा रहेका सम्बन्धित समस्याहरुको उचित व्यवस्थापन गरी ओझेलमा परेका प्राकृतिक, संस्कृ‌तिक धार्मिक, ऐतिहासिक क्षेत्रहरुको संरक्षण र विकास तर्फ ध्यान जानु आवश्यक हुन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्