भूमिका गैरे तिमिल्सिना
मानिसले जीवनमा केही न केही आफ्नो चाहनाअनुसार गरिरहन्छ । मानिसको भित्री चाहना दृढ इच्छा र लगनशीलतालाई निरन्तरता दियो भने अठ्यारा चुनौतीहरु हटाइ जस्तोसुकै कठिन परिस्थितिलाई पनि अनुकूल बनाएर सफलताको सिढी चढ्न सक्छ । आफ्नो जीवन कस्तो बनाउन हो ? मानिस स्वयंममा निर्भर गर्छ । जीवनमा आउने आरोह -अवरोहहरुलाई सहजताले ग्रहण गरी अगाडि बढ्न सक्यो भने पक्कै पनि जीवनको उद्देश्य प्राप्त गरी सार्थक बनाउन सक्छ ।
आफ्नो जीवनभरि सामाजिक, राजनीतिक, धार्मिक एवम् परोपकारका क्षेत्रमा योगदान पुर्याउन सफल अझ विशेष सिंचाइ र खानेपानीका क्षेत्रमा आफूलाई अब्बल तुल्याउन सफल, अनेकौं हन्डर, ठक्कर खाएर पनि जीवनलाई सार्थक बनाउने उदाहरणीय नामले चिनिन्छन्, शोभाखर रिमाल । शोभाखर रिमालको जन्म वि.सं. २०१३ साल चैत्र १६ गते तनहुँ जिल्लाको कछार भन्ने ठाउँमा माता अक्षरीदेवी रिमाल र पिता नन्दप्रसाद रिमालका कान्छा छोराकारूपमा जन्म भएको थियो । तिक्ष्ण वृद्धि, स्पष्ट बोल्ने खालको उनको स्वभाव थियो ।
शिक्षा प्राप्तिका लागि सहज होस् भनि २०२१ सालमा तनहुँको कछारबाट गैंडाकोट बसाइँसराइ गरे । वि.सं. २०३२ सालमा एसएलसी दिएर औपचारिक शिक्षा समाप्त गरेता पनि जीवन पर्यन्त सिक्ने र सिकाउने अनौपचारिक शिक्षा अगाडि बढिरह्यो । वि.सं. २०३२ सालमा पुतली सुवेदीसँग वैवाहिक बन्धनमा बाँधिए । उनका दुई छोरा र दुई छोरी छन् ।
उनि कतिका मार्गदर्शक बने ? सुखको घडीमा होस् अथवा दुःखको घडीमा उनको अनुहार सहजै भेटिन्थ्यो । मर्दापर्दा थाहा पाएसम्म सिकाउन आफैं पुग्थे भने अभिभावकको भूमिकामा आफ्नो क्षेत्रमा सहजै आफूलाई चिनाएका थिए ।
वि.सं. २०३९ सालमा जयश्री सिंचाई कुलोको निर्माण र व्यवस्थापन गरी अध्यक्ष पदमा सोही अवधिदेखि नमरुन्जेलसम्म नै गैंडाकोटको भूमिलाई उर्वर बनाउन सहयोग गरे । उनले आफ्नो जीवनलाई सामाजिक, राजनीतिक एवम धार्मिक क्षेत्रमा समर्पित गर्नुभयो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, राधाकृष्ण मन्दिर, कोटेश्वर मन्दिर, चण्डिकादेवी मन्दिर, रिमाल कूल मन्दिरका आजिवन सदस्य रहनु भएको छ । विभिन्न धार्मिक क्षेत्रमा उनको योगदान रह्यो ।
गैंडाकोटको जनक माध्यमिक विद्यालय र सो को प्राथमिक शाखा समितिको विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरे । २०४२ सालको गाससको निर्वाचनमा गैंडाकोट ४ बाट निर्वाचित भएका थिए । प्रजातन्त्रको पुनस्थापना अर्थात् २०४८ साल पछिका दुई स्थानीय निर्वाचनमा गैंडाकोट ४ को वार्ड अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भई समाज विकासको अभियानमा योगदान दिए ।
स्वर्गीय सूर्यभक्त अधिकारीको आग्रहमा गैंडाकोटमा रहेको खानेपानी (पिउने पानी) को समस्या समाधानका लागि उनि कम्मर कसेर लागे । वि.सं. २०४८ सालमा जलुके खानेपानीको अध्यक्ष भई कार्य शुभारम्भ गरेका उनले डिप बोरिङबाट जजुवामा पानी निकाल्न कोसिस गरे । अध्ययन कै क्रममा गैंडाकोट पम्पिङ खानेपानी रहेको स्थानमा बोरिङबाट पानी निकाल्न सफल भएपछि छुट्टै संस्था स्थापना गरी आफूलाई खानेपानी बा ! को दर्जामा आफूलाई उभ्याए ।
गैडाकोट पम्पिङ स्किम तथा खानेपानी उपभोक्ता सरसफाइ संस्थामा हाल ६००० भन्दाबढी उपभोक्ताले लाभ लिइरहेका छन् । उक्त संस्थाका परिकल्पनाकार, संस्थापक अध्यक्ष उनि नै हुन् । उनले वि.सं. २०५३ सालदेखि २०७३ सालसम्म र २०७६ सालदेखि २०७८ सालसम्म सो संस्थाको अध्यक्षमा रही भूमिका निर्वाह गरे ।
गैंडाकोटमा रहेको विनायक कृषि सहकारी संस्थाका पूर्व सञ्चालक, विकू वचत तथा ऋण सहकारी संस्था, किसान बचत तथा ऋण सहकारी संस्था लि., सामुदायिक रेडियो विजय एफएम १०६. का सदस्य रहनुका साथै थुप्रै संघसंस्थामा रहेर काम गरे । वि.सं. २०२९ सालदेखि नै नेविसंघमा रहेर काम गरे । नेपाली काङ्ग्रेस विश्वेश्वरप्रसाद कोइरालाको चिन्तनलाई निरन्तर बोकेर हिंडे, जसको फलस्वरुप कहिले वार्ड त कहिले बुथ सभापति भएर काम गरे ।
उनी नेपाली काङ्ग्रेस गैंडाकोटका निवर्तमान उपसभापति समेत रहनुका साथै राजनीतिक चिन्तन जे भएपनि घरपरिवार, आफन्त र इष्टमित्र सबैका साझा व्यक्ति थिए । समाजमा मर्दापर्दा सुन्न , देख्न र सहयोग लिन पाइन्थ्यो । उहाँले हरेक समय समाजसेवामा खर्चिएर आफ्नो व्याक्तिगत जीवनमा धनसम्पति नकमाए पनि आफन्त र इन्टमित्र कमाएकोमा गर्व गर्थे । घरपरिवारबाट पूर्ण सहयोग प्राप्त भएको र इज्जत कमाएकोमा खुसी व्यक्त गर्थे ।
उनको राजनैतिक, समाजिक एवम् धार्मिक जीवन सादगीपूर्ण रहयो । उहाँले आफ्नो जीवनलाई एउटा फूलसँग तुलना गर्थे। जसरी फूल कोपिलाबाट फक्रन्छ र झर्छ । त्यस्तै गरि हाम्रो जीवन पनि पहिला कोपिलासरी कोमल हुन्छ, फूल फर्कदा जीवनमा अनेक सङ्घर्ष गरेर एक पहिचान बनाउँछौँ, नाम कमाउँछौँ र अन्त्यमा फूल झरे जसरी हामी पनि भौतिक संसारबा विलिन हुन्छौँ । त्यसले हामीले कर्म गर्नबाट पछि हट्नु हुदैन । मर्दा कसैले केही लादैन, आफ्न काम, कृति छाडेर जान्छौं भनि जीवनलाई विश्लेषण गर्थे ।
उनको सम्मान स्वरूप गैंडाकोट पम्पिङ स्किम तथा खानेपानी उपभोक्ता सरसफाइ संस्थाको परिसरमा २०८१ साल फाल्गुन १४ गते महाशिवरात्रीका दिन अर्धकदको सालिक निर्माण गरि अनावरण गरिएको छ ।
उनि वि.सं. २०७९ साल मङ्सिर ४ गते साँझ ७:०० बजे दिल्लीको अपोलो अस्पतालमा ६६ वर्षको उमेरमा दिवङ्गत भए । उनको भौतिक शरीर हामी माझ नरहेता पनि उनका सिद्धान्त, विचार, चिन्तन र योगदान अविस्मरणीय रहने छन् । निस्पक्षता, तटस्थता र सुशासनलाई आफ्नो जीवनको मूल्य ठान्ने उहाँको निधनले समाज, नगर र राष्ट्रलाई क्षति पुगेको छ। उनि यस क्षेत्रमा पानी बा ! का नाम ले परिचित थिए ।


प्रतिक्रिया दिनुहोस्