भूमिका गैरे तिमिल्सिना
‘हेर त ! त्यो सुन्तलीलाई लाऊँ लाऊँ , खाऊँ खाऊँ भन्ने उमेरमा कत्रो बज्र पर्यो पर्न नि ?’ छिमेकी काकाले भने ।
नाताले ज्वाइँ पर्ने मदनले फेरि थपे, ‘यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस् । बिहान चिया पिएर सँगै निस्केका थियौँ । अचानक गाडीले हानेर ठाउँको ठाउँ ठहरै हुनु भयो । ऐया ! भन्न नि पाउनु भएन । हृष्टपुष्ट मान्छे एकैछिनमा हेर्दाहेर्दै जानु भयो ।’
मदनले भक्कानिँदै भने, ‘आफ्नै आँखा अगाडि नै घटना हुँदा मेरो त होसहवास केही थिएन ? हातखुट्टा कामे । बाटाका मानिसहरू मिलेर जेनतेन अस्पताल लग्यौँ । तुरून्तै डाक्टरले मृत घोषणा गरिदियो।’
उनै छिमेकीले भने, ‘दाजुभाइ पनि कोही छैनन् ? सन्तानको नाममा एउटी छोरी मात्र छिन् कसैलाई त गुहार्नै पर्यो ।’ सुन्तली, होस गुमाएर लडेकी थिई । मदन छेउमा गएर बोलाए अलिकति बौरिए । रुँदै आलाप बिलाप गर्न थाली । घटनाको जिम्मेवार आफैँलाई ठान्दै मदनले पश्चातापको स्वरमा भने, ‘बिहान मैले व्यर्थै घुम्न जाऊँ, भिनाजु ! भनेर लिएर गएछु ।’
आफन्तमा कोही बस्न मान्छन् कि ? भनेर उनी यता उता फोन गर्न थाले । उसैबेला मृतककी छोरी अगाडि आएर भनी, ‘बाबाको क्रिया म गर्छु, मामा ।’


प्रतिक्रिया दिनुहोस्