गरिबी (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०८१, शनिबार
2 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

‘सात-सात जना छोराछोरी कसरी हुर्काए हुँला ? आफ्नो नाउँमा केही थिएन, ऐलानी जग्गामा सानो कटेरो हालेर बसेँ । मेलापात, दाउराघाँस, दुख र संघर्ष त कति हो कति ?’ पुतलीले कमली सँग दु:ख बिसाई ।

- Advertisement -
Ad imageAd image

कमली र पुतली सानैदेखिका मिल्ने साथी थिए । संगै पढे , संगै बढे । बिहेपछि उनीहरूको भेट भएको थिएन । लामो समयपछि आज संयोगले भेट भएको अवस्थामा उनीहरू दु:ख सुख साट्दै थिए ।

पुतलीका कुरा सुनेपछि कमलीले उसको घाउमा मलहम लगाउने प्रयास गरी, ‘घरका लोग्ने मानिसले स्वास्नीको दु:ख नबुझेपछि आइमाईलाई बाँच्नै गाह्रो हुने रहेछ ।’

‘आफ्नो त लोग्ने भन्नु कि शत्रु रु घरको केही मतलब राख्दैनथे । आफैं कमाउने आफैं रमाउने पाराका थिए । दिउँसै झ्याप हुने, कानो गोरुलाई औसी न पुर्ने भनेजस्तो सम्झाएको नलाग्ने थियो । तिनको बानीले गर्दा नि होला, मलाई सबैले हेप्थे ।’

कमलीले जिज्ञासा राखी, ‘यसरी बिग्रेका लोग्नेलाई तैँले विदेश पठाइनस् रु पसिना बगाउनु परेको भए चेत खुल्थ्यो नि !’

विगत सम्झिदै उसले भनी, ‘छोराछोरी पनि सानै थिए । घरमा ऋण लागेर हैरान भएँ । यसै ऋण, उसै ऋण भन्ने लाग्यो अनि ऋण खोजेरै उनलाई कुवेत पठाएँ ।’

कमलीले खुसी भएर भनी, ‘बुझकी नै रहेछन् त ! कमाइ पनि त पठाए होलान् ?’

‘लोग्नेसंगको विछोड भए पनि केही वर्ष त खर्च सजिलै भयो । केटाकेटी पनि अलअलि पढ्न पाए तर फर्किएपछि उहीँ पुरानै चाला ! सुध्रिने भएनन् । म के गरौँ ?’

पुतलीको व्यथा सुनेर कमलीको मन भारी भयो । शब्दले सम्झाउन उसले हरतरहले प्रयास गरी । पुतलीले भनी, ‘ल, बिदा मागेँ । मलाई पनि अस्पताल पुग्नु छ । एउटा धनाढ्य व्यक्ति मृगौला फेल भएर आइ सि युमा छ रे !’

उसले आत्तिएर सोधी, ‘के, किन ?’

मलीन भएर पुतलीले भन, ‘मलाई बाँच्नका लागि दुईवटा किड्नी किन चाहियो र ? एउटै भए पुगिहाल्छ नि !’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्