सुन तस्करी: पूर्वआइजीपी सर्वेन्द्र खनालप्रति किन मौन ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०८०, शनिबार
5 Min Read
Aa

काठमाडौं – सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लगेको छ । सुन तस्करीका विचौलिया जीवन चलाउनेको निकट सम्बन्ध पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित केही राजनीतिक दलका प्रभावशाली नेताहरूसँग देखिएको भन्दै थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । हालसम्म सार्वजनिक भएका र आयोगको प्रतिवेदनमा उल्लेख भएका प्रमाणहरूअनुसार चलाउने र खनालको सम्बन्ध स्थापित देखिन्छ ।

सुन तस्करी प्रकरणमा खनालका व्यावसायिक साझेदार सुबुप्रताप केसीलाई ३० हजार अमेरिकी डलर चलाउनेले दिएको प्रतिक्रिया दिएका छन् । विदेशमा रहेका बेला डिजिटल माध्यमबाट चलाउनेले आयोगलाई दिएको बयानमा उल्लेख छ । उनले चिनियाँ सुन तस्करीका नाइके दावा छिरिङको साथीमार्फत खनाललाई रकम दिएको बयान दिएका छन् ।

‘केसी र दावाका एक जना साथीबीच लेनदेन भएको म्यासेज छ । तर, पुष्टि गर्न खनाल र उक्त साथीको बैंकिङ कारोबार हेर्नुपर्ने हुन्छ,’ त्यसैका लागि खनाललाई थप अनुसन्धानको आवश्यकता छ । तर आयोगले केसी र खनालबीच सोझै सम्बन्ध स्थापित गर्न नसकेको भन्दै प्रतिवेदनमा भने खनालको नाम उल्लेख गरेको छैन । तस्करीमा चलाउने मुछिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको थियो । तर सोधपुछका लागि सीआईबीमा उपस्थित हुँदाको सीसीटीभी फुटेजसमेत गायब पारेको शंका आयोगले गरेको छ ।

जुन विवरण गृह तथा सीआईबीले उपलब्ध नगराएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । अनुसन्धानमा लापरबाही गरे पनि चलाउने फरार भए, सीआईबीले अनुसन्धान गरेको विषय उल्लेख नै नगरी सरकारी वकिलको कार्यालयमा फरार सूचीमा राखी प्रतिवेदन पेस गरेको थियो । सीआईबीका तत्कालीन एसपी थापाको कार्यकक्षमा बयान कागज गरेर चलाउनेलाई छाडिएको र उक्त कागजसमेत पछि च्यातिएको प्रतिवेदनमा उल्लेख छ । ‘चलाउने बयान दिन जाँदाको सीसीटीभी फुटेज डिलिट गरिएको छ । बयान कागज च्यातिएको र उनलाई भाग्ने मौका दिएको देखिन्छ,’ आयोगका एक सदस्यले भने ।

तर आयोगसमक्ष चलाउनेले दिएको बयानमा आफू ४ घण्टा सीआईबीमा उपस्थित भएको उल्लेख गरेका छन् । ‘एसपी थापाले बयान लिई सो बयानमा सहीछाप गराएका थिएँ,’ चलाउनेले आयोगलाई दिएको बयानमा भनेका छन् । तर चलाउनेले खनालको नाम भने बयानमा दिएका छैनन् । ‘त्यसकारण चलाउनेलाई कसले चलाइरहेको छ रु भन्ने अनुसन्धान त्यहींबाट सुरु हुनुपर्छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘त्यो अनुसन्धान खनालदेखि अन्य उच्च अधिकारीहरूसमक्ष पुग्नुपर्छ । पुग्छ कि पुग्दैन वर्तमान गृहमन्त्री, प्रहरी प्रमुख, सीआईबी प्रमुखको परीक्षाको विषय हो ।’

चलाउने र खनालबीचको सम्बन्ध स्थापित गर्ने अर्को आधार पनि आयोगले देखाइदिएको छ । खनालका साथी सुबु केसी पनि सुन तस्करीको प्रकरणमा जोडिएका छन् । केसीलाई मुद्दा चलाउनुपर्ने सुझाव आयोगले दिएको छ । सुन तस्करीका मुख्य नाइके दावा छिरिङले २० हजार अमेरिकी डलर केसीलाई दिएको विवरण आयोगले फेला पारेको छ । पुर्पक्षका लागि थुनामा रहेका दावाको मोबाइलमा उपलब्ध विवरणअनुसार २० हजार अमेरिकी डलर केसीले दावालाई दिएका छन् ।

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न थालेको र अनुसन्धान पुग्नुपर्ने ठाउँमै पुग्ने गरी गहिरोसँग गरिने गृहमन्त्री लामिछानेले बताए । ‘आयोगले दोषी किटान गरेकामध्ये दीपेश पुनलाई प्रक्राउ गरिसकेका छौं । एआईजीको जिम्मेवारी हेरफेर गरिएको छ । अनुसन्धानमा लापरबाही गर्ने सीआईबी ३ अधिकृतलाई पनि प्रहरी हेडक्वार्टर तानिएको छ । अब बाँकी व्यक्तिको सम्बन्धित निकायबाटै अनुसन्धान हुन्छ । प्रतिवेदनले किटान गरेका कसैले पनि उन्मुक्ति पाउने छैनन्,’ उनले भने ।

छानबिन र अनुसन्धानबाट उन्मुक्ति पाएका पूर्वआईजीपीद्वय खनाल र धीरजप्रताप सिंहलाई कसरी कानुनी दायरामा ल्याउन सक्छ भन्ने विषयमा गृह मन्त्रालयमा समेत छलफल सुरु भएको एक अधिकारीले बताए । ‘ पूर्वप्रहरी महानिरीक्षक सिंहलाई निगरानीमा राख्नु भनेर आयोगले सिफारिस गरेको छ । उनले चिनियाँ सुन तस्कर दावासँग रकम नै लिएको मेसेज भएकाले सिंहमाथि निगरानी गर्नु र अनुसन्धान गर्नु कुनै ठूलो विषय भएन । तर चलाउनेभन्दा माथिल्लो तहको सम्बन्ध स्थापित गर्ने विषय चुनौतीपूर्ण देखिन्छ,’ गृहका एक अधिकारीले भने । गृह प्रशासनले चुनौती देखे पनि २०७६ सालदेखि नै खनाल र चिनियाँ तस्करहरूबीच उठबस भएको देखिन्छ । खनाल र चिनियाँ तस्कर दावाका साझेदारहरूबीच उठबस रहेको विवरण यसअघि पनि सार्वजनिक भइसकेका छन् ।

उनको सम्बन्ध सुन तस्करीमा फरार अभियुक्त अमला रोका र काठमाडौंको एक होटल सञ्चालक श्रेष्ठसँग रहेको थियो । सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा छिरिङ र रोका श्रीमान्, श्रीमती हुन् । महँगा मोबाइल, ल्यापटप, माउस, किबोर्ड अवैध रूपमा ल्याउने उक्त समूह नै बिस्तारै सुन तस्करीमा सक्रिय हुँदै आएको प्रहरी उच्च अधिकारीहरूको भनाइ छ । त्यतिबेला तत्कालीन आईजीपी खनालले उक्त तस्करी समूहमा सक्रिय चिनियाँ नागरिक चेन सितियान लगायतसँग भेटघाट गरेको तस्बिरसमेत सार्वजनिक भएको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Array