नाम शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले अघि सारे १२ एजेन्डा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०८०, शनिबार
5 Min Read
Aa

 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा एक दर्जन एजेन्डा उठाएका छन् । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावदेखि नामको अबको लक्ष्यसम्म, कोभिड–१९ जस्ता नयाँ चुनौतीहरू थपिएको, दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको, विश्वव्यापी वित्तीय सुधार आवश्यक तथा राजनीतिक संवाद र कूटनीतिमार्फत शान्ति र सुरक्षा गरिनुपर्ने बताएका हुन् ।

नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको, संक्रमणकालीन न्याय समाधानको बाटोमा रहेको, इजरायल–प्यालेस्टाइन दुई राज्य स्थापना गरी समाधान गरिनुपर्ने र कम विकसित मुलुकहरू ९एलडीसी० लाई सहयोग बढाउन आह्वान तथा युक्रेन र गाजामा द्वन्द्वको अवस्था रहेको र नामले संयुक्त राष्ट्रसंघले भूमिका खेल्नुपर्ने विषय सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले बताए । १९ औं शिखर सम्मेलनमा प्रधानमन्त्रीले सन् १९५५ को बाङडुङको अफ्रिका–एसिया सम्मेलनबाट थालिएको असंलग्न आन्दोलन ९नाम० ले लामो यात्रा तय गरेको बताए ।

नामले विश्वका धेरै देशका राजनीतिक स्वतन्त्रता, स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भने, ‘यो हाम्रो गरिमा, गौरव, ऐक्यबद्धता र सहयोगका लागि आशाको किरण बनेको छ । नामले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्व व्यवस्थाका लागि संघर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ ।’

प्रधानमन्त्री दाहालले संरक्षणवाद, हिंसात्मक अतिवाद तथा युद्ध र द्वन्द्व बढ्दै गएको बारेमा चिन्ता व्यक्त गरे । साथै, उनले सैन्य खर्च र हतियारको दौड बढिरहेको पनि उल्लेख गरे । उनले पछिल्लो शिखर सम्मेलनदेखि नै कोभिड–१९ महामारीका कारण लाखौं मानिसको मृत्यु, विपन्नता, विस्थापन र विपन्नतालगायतका ठूला चुनौतीहरू मानवतामा परेको बताए । दाहालले असंलग्नताको मूल्य र सिद्धान्तप्रति नेपालको पुनः प्रतिबद्धता रहेको प्रस्ट पारे ।

नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कम्पाला गएका प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र मौसम परिवर्तनलाई महत्त्वपूर्ण रूपमा उठाएका छन् । ‘हिमालहरू विश्व जनसंख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशत घर हो,’ दाहालले सम्बोधनमा भने, ‘यी हिमालहरूले सबै जीवित प्राणीहरूलाई विश्वव्यापी सेवाहरू प्रदान गर्दछ तर हिमालहरूले ठूलो समस्या भोगिरहेका छन् । नेपालले हिमाल, जैविक विविधता, हिमाली भूगर्भ र त्यहाँ बसोबास गर्ने मानिसको संरक्षणका लागि वकालत गर्दै आएको छ ।’ नेपालले हिमालयमा जलवायु परिवर्तनको विनाशकारी प्रभावले डरलाग्दो दरमा हिउँ पग्लने र यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाका रूपमा देखिएको उल्लेख गरे ।

‘हिमाली पर्यावरण, हिमाली सभ्यता र जैविक विविधताको संरक्षण गर्नॅ हाम्रो साझा हितमा छ । यसका लागि म नामका साथीहरूलाई हाम्रो आह्वान गर्दछु,’ दाहालले अपिल गरे । दाहालले नेपालको संक्रमणकालीन न्याय समाधानतर्फ उन्मुख भएको पनि जानकारी दिए । उनले नेपालकै अनुसार, आफ्नै शैलीमा, स्वदेशमै विकसित शान्ति प्रक्रियाको निष्कर्षमा पुगेको पनि अन्तर्राष्ट्रिय समुदायलाई नामको मञ्चलाई जानकारी दिए । ‘हामी संक्रमणकालीन न्यायलाई सदाका लागि समाधान गरेर दिगो शान्ति सुनिश्चित गर्न कटिबद्ध छौं,’ उनले भने । दाहालले कम विकसित मुलुकहरू (एलडीसी) को अध्यक्ष राष्ट्रको हैसियतमा अल्पविकसित मुलुकहरूलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरे । प्रधानमन्त्री दाहालले विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो विकासको दृष्टिकोण र लक्ष्यहरू प्राप्त गर्न, वित्त सुरक्षित गर्न, सक्षम बनाउन ‘ग्लोबल फाइनान्सियल आर्किटेक्चर’ लाई सुधार गर्नुपर्ने भनाइ राखे । उनले ती देशहरूलाई विकासमा न्याय प्रदान गर्न, विकसित देशहरूले ढिलाइ नगरी आफ्नो वित्तीय प्रतिबद्धता पूरा गर्ने बताए ।

प्रधानमन्त्री दाहालले नामको अबको लक्ष्य दिगो विकास (एसडीजी) को २०३० एजेन्डा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत गर्नका लागि विकासका लक्ष्यहरू समयमै प्राप्त गरी आफ्नो सदस्यहरूको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उल्लेख गरे । उनले अहिलेको विश्वमा गेम चेन्जर बनेको विज्ञान, प्रविधि र नवप्रवर्तनमा विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न नामले उच्च प्राथमिकता दिनुपर्ने धारणा राखे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राजनीतिक संवाद र कूटनीतिको माध्यमबाट शान्ति र सुरक्षाको दिगो समाधान खोज्ने समाधान खोज्ने समय अहिले भएको बताए । उनले पुरानो र नयाँ द्वन्द्वको नतिजाले अफ्रिकी क्षेत्रलाई मात्र नभई सम्पूर्ण विश्वलाई, विशेष गरी ग्लोबल साउथलाई घेरेको उल्लेख गरे । उनले भने, ‘सबैका लागि सम्मान र मर्यादाका साथ राजनीतिक संवाद र कूटनीतिमार्फत शान्ति र सुरक्षाको दिगो समाधान खोज्ने यो समय हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array