राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले पूर्वाग्रह त्याग्नुपर्दछ: अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग(YCL) नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका हुन् ।

उनले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामुहिक भुमिकाको आवश्यकता पर्ने उल्लेख गरे । अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताए ।

उनले भने, ‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझैपनि । र अनि विकास, निर्माण र सुशासनलाई अगाडि बढ्ने वातावरण निर्माण हुन सकेको छैन । मलाई के लाग्छ भने यो कुनै घमण्डको कुरा होइन, जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि रगतको खोलो बगायो । बलिदानका अनगिन्ति कीर्तिमान कायम गरेर एउटा निश्चित विचार श्रृंखलासहित यहाँ आएको नेतृत्व फेरि एकचोटी नेता र जनताको बिचमा स्थापित नगरीकन, राष्ट्रलाई ठिक ढंगले नेतृत्व नगरिकन जनता र इतिहासको यो आकांक्षा पूरा हुनेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्