कप्तान रोहित पौडेलको उत्कृष्ट शतकसँगै क्यानडामाथि नेपालको २४ रनको रोमाञ्चक जित, लिग-२ मा विजयी सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौँ – ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा आईतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। यो जितसँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने एक दिवसीय मान्यता जोगाउने सम्भावनालाई बलियो बनाएको छ।

- Advertisement -
Ad image

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात निकै खराब रहेको थियो। प्रारम्भिक ब्याटरहरू आसिफ शेख ४ रन र ईशान पाण्डे शून्य रनमै आउट भएपछि संकटमा परेको नेपाली इनिङ्सलाई कप्तान रोहित पौडेलले सम्हालेका थिए। रोहितले १२७ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा १०१ रनको सानदार शतकीय पारी खेले, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो।

मध्यक्रममा गुलशन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे भने बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए। नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २३५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। क्यानडाका बलर अखिल कुमारले सर्वाधिक ४ विकेट लिएका थिए।

२३६ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

क्यानडालाई सस्तैमा समेट्न नेपालका बलरहरूले कसिलो बलिङ गरे। नेपालका लागि तीव्र गतिका बलर करण केसी र नन्दन यादव तथा स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिएका थिए। नेपालले आफ्नो दोस्रो खेलमा आगामी मंगलबार घरेलु टोली ओमानको सामना गर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्