सानेपाको आँगनबाट गगनको नयाँ हुङ्कार: ‘अब इतिहास रट्ने होइन, इतिहास रच्ने कांग्रेस चाहिन्छ’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०८३, शनिबार
2 Min Read
Aa

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी बहुमतका साथ नवनिर्वाचित सभापति गगन थापाले अबको कांग्रेस पुरानो गौरव गाथामा मात्र अल्झिएर बस्न नहुनेमा जोड दिंदै ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित विशेष स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।

नवनिर्वाचित सभापति थापाले कांग्रेसले विगतमा देशका लागि गरेका ऐतिहासिक योगदानको सम्मान गर्ने तर अबको पुस्ताले इतिहास रट्ने मात्र नभई नयाँ इतिहास रच्ने कांग्रेस खोजेको उल्लेख गरे। “हाम्रो गौरवशाली इतिहास छ, यसमा हामीलाई गर्व छ,” थापाले भने, “तर अब हामी विगतको ब्याज मात्र खाएर बस्न सक्दैनौँ। नयाँ पुस्ताको चाहना, देशको आवश्यकता र नागरिकको बदलिँदो भावनालाई समेट्दै अब हामीले नयाँ इतिहास रच्नुपर्छ।”

- Advertisement -
Ad image

शुक्रबार सम्पन्न मतगणनामा कुल ६,५८४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक पार्टी कार्यालय पुगेका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले केवल ३७५ मत प्राप्त गरेका थिए। ऐतिहासिक मतान्तरसहित विजयी भएका थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास मात्र भएको भन्दै अब जय र पराजयको राजनीति सकिएको घोषणा गरेका हुन्।

आफ्नो कार्यकालको मुख्य संकल्पहरू सार्वजनिक गर्दै नवनिर्वाचित सभापति थापाले भने:

    • नागरिकको विश्वास पुनः आर्जन गर्ने: पार्टीको नेतृत्व परिवर्तन मात्र मुख्य विषय नभएको प्रष्ट पार्दै उहाँले कार्यशैली, जिम्मेवारी र जबाफदेहितामा आमूल सुधार गरेर जनताको गुमेको भरोसा फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
    • ‘घर फर्क’ अभियान: विभिन्न समयमा पार्टीप्रति असन्तुष्ट रहेर टाढिएका वा अन्यत्र लागेका लाखौँ कार्यकर्ता, पुराना नेता र शुभेच्छुकहरूलाई समेट्न तत्काल देशव्यापी ‘घर फर्क’ अभियान सुरु गरिने उनको उद्घोष छ ।
    • सबैलाई समेट्ने नेतृत्व: चुनावी मैदानमा रहेका आफ्ना प्रतिस्पर्धी खड्गी तथा पार्टीभित्रका सबै गुट र उपगुटलाई समेटेर आफू सिङ्गो कांग्रेसको सभापति बनेर काम गर्ने उनले स्पष्ट पारे ।

युवा नेता थापाको यो ओजपूर्ण सम्बोधनसँगै सानेपाको आँगनमा उपस्थित हजारौँ कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ। पार्टीभित्र युवा पुस्ताको आगमनले कांग्रेसमा आमूल रूपान्तरण र नयाँ राजनीतिक संस्कारको थालनी हुने अपेक्षा आम नागरिकले गरेका छन्।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्