घर–घरमा दियो, कलश र गणेश स्थापना गरी आज हर्षोल्लासका साथ बडादशैंको पहिलो दिन घटस्थापना मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपालीहरूको महान् चाड बडादशैं आजदेखि घर–आँगनमा भित्रिएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज देशभरका नेपालीहरूले घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना मनाउँदैछन्।

आजकै दिनदेखि नवदुर्गा भवानीको विशेष पूजा–आराधनासहितको नवरात्र पनि विधिवत् रूपमा सुरु भएको छ। आज बिहानै नुहाइधुवाइ गरी चोखो भएर बालुवा वा माटोको बेदी बनाई त्यसमा जौ, मकै वा गहुँ छरेर जमरा राख्ने परम्परा छ।

- Advertisement -
Ad image

वैदिक मान्यता अनुसार घटस्थापना गरिएको कलशलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको स्वरूप मानेर दशैं घर वा पूजा कोठामा राख्ने गरिन्छ। नवरात्रको पहिलो दिन आज नवदुर्गाको पहिलो रूप शैलपुत्री देवीको विशेष पूजा–आराधना गरिँदैछ। आज स्थापना गरिएको जमरालाई दशौँ दिन अर्थात् विजयादशमीका दिन मान्यजनको हातबाट प्रसादको रूपमा टीकासँगै लगाउने धार्मिक प्रचलन रहिआएको छ।

देशभर दशैंको चहलपहल र रौनकता छाए पनि गोरखाको बूढीगण्डकी क्षेत्रमा आएको आकस्मिक भीषण बाढीका कारण तटीय क्षेत्रमा केही त्रास र सुरक्षा चुनौती थपिएको छ। यद्यपि, नेपालीहरू विपद् र संकटका बीच पनि आफ्नो सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै सुरक्षित ढंगले पर्व मनाउन जुटिरहेका छन्।

स्थानीय प्रशासनले विपद् प्रभावित र जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई विशेष सतर्कता अपनाएर मात्र चाडपर्व मनाउन र नदी किनार आसपास क्षेत्रमा सचेत रहन आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्