जाइकाले २२ अर्बमा बनाउने सडक, नेपाल सरकारबाट आठ अर्बको  प्रारम्भिक अनुमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौँ – जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले २२ अर्ब मा बनाउने सडक नेपाल सरकारले आठ अर्बमा  प्रारम्भिक आकलन  गरेको छ । जाइकाले नेपाल सरकारको बजेट अनुसारको डिजाइन गर्न नसक्ने भएपछि सरकारले आफ्नै लगानीमा बनाउने भएको हो । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सडक आयोजना नेपाल सरकारले जाइकालाई दिएको थियो। आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको हो ।

जाइकाले सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेस गर्दै  सडक विस्तारका लागि सडक, आकाशेपुल र सुरुङमार्ग निर्माणसहित मुआब्जा समेत गर्दा लगभग २२ अर्ब रुपैयाँ लाग्ने बताएपछि सरकारले त्यो लगानी बेहोर्न नसक्ने भनेको थियो। त्यसपछि बीचमा यसबारे नेपाल सरकार र जाइका दुवैले पुनः आयोजना अघि बढाउने विषयमा छलफल समेत गरेका थिए।

आयोजना प्रमुख रविन्द्रलाल दासका अनुसार, हालसम्म सूर्यविनायक-धुलिखेलसम्मको सडक चार लेन र सर्भिस लेन दुई वटा निर्माण गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। “यसका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को काम थालेको थियो।” उक्त डीपीआरको ड्राफ्ट भने तयारी अवस्थामा रहेको दासले बताएका छन्।

डीपीआरको ड्राफ्ट आइसकेको तर यसको अन्तिम प्रतिवेदन आउन १० दिन लाग्ने दासले जनाए । यस सडक विस्तारको यसभन्दा अघिका प्रारम्भिक अध्ययन जापानी परापर्शदाताको समूहले गरेको थियो। तर पछि नेपालले आफ्नै लगानीमा निर्माण गर्ने भएपछि डीपीआर नेपाल आफैंले बनाएको हो। दासका अनुसार परियोजनाको विस्तृत प्रतिवेदनलाई नै कुरेर बसेकाले यो आएलगत्तै बहुवर्षीय ठेक्का आह्वान हुनेछ।

सरकारले यस आयोजनालाई बहुवर्षीय ठेक्कामा राखेर निर्माणको काम अगाडि बढाउन लागेको हो। यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) थालेको छ । प्रारम्भिक योजना अनुसार भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक कुल ६ लेनमा विस्तार गर्न लागिएको हो। यसमा दुई लेन सर्भिस लेन र मुख्य सडक चार लेनको बनाउने योजना छ।

आयोजना प्रमुख दासका अनुसार, हालसम्म सूर्यविनायक(धुलिखेलसम्मको सडक चार लेन र सर्भिस लेन दुई वटा निर्माण गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस्तै यस परियोजनाअन्तर्गत केही पुलहरु पनि निर्माण गर्नुपर्ने देखिएको छ, जसका लागि लागि थप एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ। साथै, सडकका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जाका लागि पनि अर्को एक अर्ब लाग्ने अनुमान गरिएको छ।

यसरी सडक, पुल दुवै निर्माण कार्य सम्पन्न गर्न कुल आठ अर्ब रुपैयाँ यस परियोजनाका लागि चाहिने प्रारम्भिक आकलन भएको दासले बताए। तर यो यतिनै लाग्छ भन्ने हैन, डीपीआरको अन्तिम प्रतिवेदन आएपछि भने लागतको मोटामोटी आँकडा पनि थाहा हुनेछ । सरकारले यस वर्षको लागि यो आयोजनालाई ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

१२ वर्ष पहिले तीनकुने–सूर्यबिनायक सडक विस्तार  जाइकाकै सहयोगमा बनेको थियो। त्यसैले सरकारले यो खण्ड पनि जाइकालाई नै दिने बताउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array