इण्डो प्यासेफिक कमाण्डर नेपाल आउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०७९, बिहीबार
3 Min Read
Aa

काठमाण्डौ – अमेरिकी सेनाका चार तारे जर्नेल नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणअघि नै अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी.अक्वीलिनो नेपाल भ्रमणमा आउने भएका हुन् । उनि अमेरिकी सेनाको शक्तिशाली जर्नेल हुन् ।

उनको भ्रमण जुनको अन्त्यतिर हुन लागेको सैनिक स्रोतले जानकारी दिएको छ । अमेरिकी दूतावासले नेपाली सेनासंग भ्रमणको तयारीबारे छलफल गरिरहेको छ । सुरुमा प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारीबारे दुवै पक्षबीच छलफल भएपनि अमेरिकी पक्षले प्यासेफिक कमाण्डका कमाण्डरको पहिला नेपाल भ्रमण हुने जानकारी गराएको सैनिक स्रोतले बतायो । उनको भ्रमणपछी मात्र शर्माको अमेरिका भ्रमण हुने निश्चित भएको छ । शर्मा लेवनान र अण्डफ मिसन समेत जाने तयारीमा छन् ।

अमेरिकी सेनाको प्यासेफिक कमाण्डले एसियाका नेपाल, भारत,पाकिस्तान, फिलिपिन्स र अष्ट्रेलिया र पपुवा न्युगिनीलगायतका देश हेर्ने भएकाले उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी संसदबाट पारित भएसंगै अमेरिकाबाट एकपछी अर्को उच्चस्तरिय भ्रमणहरु भइरहेका छन् ।

अमेरिकाबाट केही समयअघि मात्र सिनेटर क्रिस्र्टन जिलिब्रान्डको नेतृत्वमा उच्चस्तरिय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको थियो । त्यसलगत्तै अमेरिकाको नागरिक,सुरक्षा,प्रजातन्त्र र मानव अधिकार हेर्ने उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमण भएको थियो । दुवै टोलीले नेपालमा उच्चस्तरिय भेटवार्ता गरेर फर्केको थियो ।

अमेरिकाबाट पछिल्लो समय भइरहेका भ्रमणहरुलाएै विज्ञहरुले नेपालमा आफ्नो प्रभाव थप विस्तार गर्ने अमेरिकी चाहनाका रूपमा अर्थ्याएका छन् । नेपाली सेना र अमेरिकी सेनाबीच भने सुरुदेखी नै गहिरो सहकार्य छ ।

एडमिरल अक्वीलिनोले समेत राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासंग द्धिपक्षिय भेटवार्ता गर्ने कार्यक्रम छ । उनको भ्रमण प्रधानसेनापति शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणअघि हुने तय भएको भइसकेको छ । प्रधानसेनापति शर्मा जुन २६ तिर अमेरिका जाने तयारीमा छन् भने देउवाको मध्य जुलाईमा अमेरिका भ्रमणको तयारी छ ।

प्रधानमन्त्री देउवाको यसपटकको भ्रमण राजकिय बनाउने तयारी छ । २० वर्षपछी नेपाली प्रधानमन्त्रीलाई अमेरिकाले विशेष सम्मान गर्ने र उनले ओभल अफिसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकाले यसपटक देउवालाई विशेष सम्मान गर्ने कार्यक्रम समेत रहेको स्रोतको दावी छ । उनले बाइडेनसंगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनलगायत उच्च अमेरिकी अधिकारीहरुसंग भेटवार्ता गर्नेछन् । देउवा सम्मिट फर डेमोक्रेसी र त्यहीबाटै संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी हुनेछन् ।

नेपाल र अमेरिकी सेनाबीच पछिल्लो समय घनिष्ट सम्बन्ध विकास भइरहेका बेला शर्माको अमेरिका भ्रमण हुन लागेको हो । अमेरिकाले नेपाली सेनालाई हेलिकोप्टर र जहाज उपलब्ध गराउने सम्भावना छ । त्यसका साथै स्टेट पार्टनरसिप प्रोगामको बारेमा समेत उनको भ्रमणमा छलफल हुनेछ ।

उनकै भ्रमणको पुर्वसन्ध्यामा सेनाले अमेरिकाबाट ६ हजार थान एम १६ र एम ४ हतियार समेत खरिद गर्ने तयारी गरेको छ । प्रधानसेनापति शर्माको एक साता अमेरिका भ्रमण हुने टुंगो लागिसकेको छ । शर्माले पेन्टागनमा आफ्ना समकक्षीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

Array