पशुपतिनाथ मन्दिरमा मुस्लिम टोपीसहित प्रवेश गरेको घटनाप्रति वैदिक सनातन युवा मोर्चाको आपत्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौं – पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा तथा प्रवेश व्यवस्थाविपरीत मुस्लिम टोपीसहित प्रवेश गरिएको भनिएको घटनाप्रति वैदिक सनातन युवा मोर्चाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

मोर्चाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिर विश्वभरका सनातन हिन्दूहरूको आस्थाको केन्द्र तथा नेपालको धार्मिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको धार्मिक मर्यादा, परम्परा र प्रवेशसम्बन्धी नियमको संरक्षण गर्नु सम्बन्धित निकायको प्रमुख जिम्मेवारी भएको जनाएको छ।

- Advertisement -
Ad image

विज्ञप्तिमा उक्त घटनाका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले कस्तो सुरक्षा तथा प्रवेश व्यवस्था अपनाएको थियो र निर्धारित नियमविपरीत प्रवेश कसरी सम्भव भयो भन्ने विषयमा गम्भीर प्रश्न उठाइएको छ।

मोर्चाले घटनाको सत्यतथ्य छानबिन गरी प्रवेश व्यवस्थाबारे २४ घण्टाभित्र स्पष्ट लिखित जवाफ सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषसँग माग गरेको छ। निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभए पशुपतिनाथको धार्मिक मर्यादा, परम्परा तथा पवित्रताको संरक्षणका लागि सम्बन्धित निकायमा शान्तिपूर्ण र लोकतान्त्रिक ढंगबाट ध्यानाकर्षण गराउन बाध्य हुने चेतावनीसमेत मोर्चाले दिएको छ।

यद्यपि, मोर्चाले आफ्नो उद्देश्य कुनै धर्म वा समुदायप्रति द्वेष वा असम्मान गर्नु नभएको स्पष्ट पारेको छ। मन्दिरमा लागू भएका धार्मिक तथा व्यवस्थापकीय नियम सबैका लागि समान रूपमा पालना हुनुपर्ने उसको धारणा छ।

वैदिक सनातन युवा मोर्चाका राष्ट्रिय अध्यक्ष सुशील बरालद्वारा जारी विज्ञप्तिमा पशुपतिनाथको धार्मिक मर्यादा, परम्परा र पवित्रताको संरक्षणका लागि सम्बन्धित निकाय गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्