मुन्सीको कीर्तिमानी शतकमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले स्तब्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौं – साविक विजेता लुम्बिनी लायन्समाथि १० विकेटको ऐतिहासिक र एकतर्फी जित निकाल्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि चुमेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल भिडन्तमा लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य सुदूरपश्चिमले मात्र १३.३ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्‍यो। अघिल्ला दुई संस्करणमा लगातार फाइनल पुगेर पनि उपविजेतामा सीमित बनेको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै ट्रफी उचालेको हो।

- Advertisement -
Ad image

सुदूरपश्चिमको सानदार जितमा विदेशी ओपनर जर्ज मुन्सी नायक बने। विस्फोटक ब्याटिङ गरेका मुन्सीले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै अविजित १२५ रनको शानदार शतकीय इनिङ्स खेले। उनलाई क्रिजमा बलियो साथ दिएका अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन जोडे। सुदूरपश्चिमको ओपनिङ जोडीसामु लुम्बिनीका कुनै पनि बलर टिक्न सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ३० रन, निरोशन डिकवेलाले २८ रन र अली शेखले २४ रनको योगदान दिए।

सुदूरपश्चिमका बलरहरू सुरुवातदेखि नै लुम्बिनीका ब्याटरमाथि हावी भए। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ विकेट हात पारे भने कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थारिन्दु रत्नायकेले समान १–१ विकेट लिए।

उपाधि जितेसँगै सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ प्राप्त गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्