चीनमा रास्वपा सांसदहरूको गोप्य संवाद लिक: ‘देउवाको हातमा कांग्रेस जानुपर्छ, ओली अझै चर्को बोल्नुपर्छ’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच नेपालको आन्तरिक राजनीति र आगामी स्थानीय निर्वाचनमा पार्टीलाई हुने सम्भावित फाइदाबारे भएको अनौपचारिक संवाद सार्वजनिक भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा कात्तिक २९ गते चीन गएको २० सदस्यीय टोलीका सदस्य सांसद श्रीराम न्यौपानेले शुक्रबार प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन हेरिरहेको भिडियो फेसबुकमा पोस्ट गर्दा पृष्ठभूमिमा भइरहेको राजनीतिक कुराकानीसमेत रेकर्ड भएर बाहिरिएको हो।

- Advertisement -
Ad image

सार्वजनिक भिडियोमा सांसद न्यौपानेले ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै’ भनेको सुनिन्छ। त्यसमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले अदालतको फैसलाबाट पनि स्थानीय चुनावसम्म देउवाकै पक्षमा आधिकारिकता जानुपर्ने धारणा राखेकी छन्।

यसैगरी, बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई रोक्न नहुने र उनीहरू ‘डबल चर्को भएर निस्कनुपर्ने’ बताएकी छन्। अर्का सांसदले पनि उनीहरूको स्वभाव नै चर्को बोल्ने खालको रहेको टिप्पणी गरेका छन्।

कुराकानीका क्रममा अन्य दलको आन्तरिक विवाद र प्रस्तुतिबाट रास्वपाले राजनीतिक लाभ लिने भए पनि त्यतिले मात्र नपुग्ने निष्कर्ष सांसदहरूले निकालेका छन्। सभापति बाँस्कोटाले काम गरेर नदेखाए जनताले आफूहरूलाई पनि पुराना दलकै अवस्थामा पुर्‍याइदिने बताएकी छन्।

भिडियो भाइरल भई सामाजिक सञ्जालमा आलोचना सुरु भएपछि सांसद न्यौपानेले फेसबुकबाट उक्त भिडियो हटाएका छन्। भिडियो भाइरल भएपछि न्यौपानेले शुक्रबार राति नै फेसबुकमार्फत स्पष्टीकरण दिँदै जनताको मत र विश्वास स्थायी नहुने भएकाले सुशासन, विकास र सेवा प्रवाहमा ठोस नतिजा दिन नसके आफूहरूले पनि जनविश्वासको संकट बेहोर्नुपर्ने कुराकानीको मूल निष्कर्ष रहेको दाबी गरेका छन्।

उता, अनौपचारिक संवाद बाहिरिएपछि महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा चीन भ्रमणमा रहेका अन्य सांसदहरूले भने असन्तुष्टि जनाएको बुझिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्