काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्री खनालले तातोपानी नाका सञ्चालनबारे छलफल गरेका हुन् ।
भेटमा मन्त्री खनालले हाल रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका अवरुद्ध रहेको र हिउँदको मौसम सुरु भएसँगै चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाबाट समेत नियमित आवागमन कठिन हुने अवस्था रहेको बताए ।
यस्तो अवस्थामा काठमाडौंसँग सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका सञ्चालनमा ल्याउनु महत्वपूर्ण हुने उनको भनाइ थियो ।
मन्त्री खनालले तातोपानी नाका नेपाल र चीनबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको प्रतीकसमेत रहेको उल्लेख गर्दै दुई देशबीचको व्यापार, सम्पर्क र आवागमन सहज बनाउन नाका तत्काल खुलाउनुपर्नेमा जोड दिए ।
जवाफमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताएका थिए ।
उक्त भेटमा बाढीपछि प्रभावित क्षेत्रमा गर्नुपर्ने पुनर्निर्माण, नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा बहुपक्षीय सहकार्यलगायत आपसी हित र चासोका विभिन्न विषयमा समेत विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्