काठमाडौँ – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्लो तीन दिन लगातार घटेको बजार बिहीबार ३.६२ अंकले उकालो लाग्दै २,६२८.६७ विन्दुमा कायम भएको हो ।
परिसूचक हरियो रहे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही संकुचन आएको छ । बुधबार ४ अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा बिहीबार ३४७ कम्पनीका कुल ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन कारोबारमा आएकामध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
होटेल तथा पर्यटन उपसमूहमा आकर्षण, एनआइसी एसियाको सर्वाधिक कारोबार
कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सूचक हरियो रह्यो भने बाँकी ८ उपसमूह घटेका छन् । बैंकिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह उकालो लाग्दा होटेल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.२९ प्रतिशत (९०.०१ अंक) ले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । उक्त बैंकको सबैभन्दा धेरै १६ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा दोस्रो स्थानमा रहेको पिपुल्स हाइड्रोपावरको १५ करोड १६ लाख रुपैयाँको किनबेच भयो ।
मूल्य वृद्धिका हिसाबले बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले सर्वाधिक ६ प्रतिशत र बोटलर्स तराईले ५.६३ प्रतिशत कमाएका छन् । उता, एभरेष्ट कलरको सेयर मूल्य भने सबैभन्दा धेरै ५.४५ प्रतिशतले घट्न पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्