तौलिहवा – राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा सनातन धर्म, संस्कृति र हिन्दु समुदायको सुरक्षामाथि चुनौती बढ्दै गएको बताउँदै आफ्नो धर्म, संस्कृति र पहिचानको रक्षाका लागि सम्पूर्ण हिन्दुहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। नेपाललाई पुनः हिन्दु राष्ट्र कायम नगरेसम्म संघर्ष जारी रहने उनको धारणा छ।
महाकाल युवा शक्ति नेपालको राष्ट्रिय समितिको वार्षिकोत्सव कार्यक्रमलाई तौलिहवामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै यादवले, “आज नेपालमा सनातन धर्म, संस्कृति र हिन्दुहरूको सुरक्षामाथि चौतर्फी खतरा उत्पन्न भइरहेको छ। हाम्रो पहिचान र धर्मको रक्षाका लागि सम्पूर्ण हिन्दुहरू एकजुट हुनुको विकल्प छैन। नेपाललाई पुनः हिन्दु राष्ट्र कायम नगरेसम्म यो संघर्ष रोकिने छैन।”
महाकाल युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष धर्मनाथ विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुँदा लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन चौधरी, मधेसवादी नेता रविदत्त मिश्र, मायादेवी गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलगायत विभिन्न धार्मिक, सामाजिक तथा युवा अगुवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री दानबहादुर चौधरीले नेपालको मौलिक संस्कृति र सनातन परम्परा देशको ऐतिहासिक पहिचानसँग जोडिएको उल्लेख गर्दै धार्मिक सहिष्णुताको नाममा हुने कुनै पनि प्रकारका अतिक्रमण तथा धार्मिक सुरक्षाका विषयमा राज्य र नागरिक दुवै संवेदनशील हुनुपर्नेमा जोड दिए।
महाकाल युवा शक्तिका केन्द्रीय अध्यक्ष धर्मनाथ विश्वकर्माले संगठन हिन्दु धर्मको रक्षा, सामाजिक एकता तथा हिन्दु राष्ट्र निर्माणको अभियानमा निरन्तर सक्रिय रहने जानकारी दिंदै देशभरका युवालाई संगठित गर्दै धर्म, संस्कृति र सामाजिक एकताको संरक्षणका लागि अभियानलाई थप विस्तार गरिने जानकारी दिए।
लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन चौधरीले धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण सबैको साझा दायित्व भएको बताउँदै सामाजिक सद्भाव कायम राख्दै हिन्दु समाजका हकहित र सुरक्षाका विषयलाई लोकतान्त्रिक माध्यमबाट सशक्त रूपमा उठाउनुपर्ने धारणा राखे।
कार्यक्रममा अन्य वक्ताहरूले पनि सनातन धर्म–संस्कृतिको संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षा, सामाजिक सद्भाव र हिन्दु राष्ट्रको विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
वार्षिकोत्सव कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक श्रद्धालु, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा महाकाल युवा शक्तिको आगामी कार्यदिशा, युवा परिचालन तथा सनातन धर्म–संस्कृतिको संरक्षणका विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्