काठमाडौं – रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको संसदीय निर्वाचनको प्रारम्भिक नतिजाअनुसार, मुख्य सत्तारूढ दल युनाइटेड रसियाले चुनावमा वर्चस्व कायम गरेको छ ।
कडा नियन्त्रणका बीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनका नीतिको विरोध गर्ने कुनै प्रभावकारी विपक्षी शक्ति उपस्थित थिएन । यसले क्रेमलिनको राजनीतिक पकडलाई थप मजबुत बनाउने देखिएको एपीले जनाएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, करिब ५८ प्रतिशत मतदान केन्द्रको मतगणना सकिँदासम्म समानुपातिक प्रणालीअन्तर्गतका २२५ सिटका लागि युनाइटेड रसियाले करिब ५८ प्रतिशत मत प्राप्त गरेको छ । संसद्का बाँकी २२५ सिट प्रत्यक्ष निर्वाचन क्षेत्रबाट चुनिनेछन्, जसमा अधिकांश सिट युनाइटेड रसियाले जित्ने प्रारम्भिक परिणामले देखाएको छ ।
यस निर्वाचनमा रुस–युक्रेन युद्ध सुरु भएपछि मस्कोले कब्जा गरेको तर पूर्ण नियन्त्रण कायम गर्न नसकेका चार युक्रेनी क्षेत्रका बासिन्दाका साथै सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाली प्रायद्वीपका बासिन्दालाई पनि मतदानमा सहभागी गराइएको थियो । युक्रेनको राजधानी किभले यसको घोर भर्त्सना गर्दै निर्वाचनलाई गैरकानुनी भनेको छ । युरोपेली संघ (ईयू) ले पनि यसलाई ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन’ भनेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन रहेको युनाइटेड रसियाको चुनावी सफलताले क्रेमलिनलाई सत्तामाथिको बलियो पकड कायम राख्न थप सहज बनाउने देखिएको छ ।
अधिकांश विपक्षीलाई उमेदवारी दिनबाटै प्रतिबन्ध लगाइएको यो निर्वाचन सोभियत संघको विघटनपछिकै सबैभन्दा कडा राजनीतिक दमन र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्धका बीच सम्पन्न भएको हो ।
प्रारम्भिक नतिजाअनुसार, क्रेमलिनका प्रस्तावलाई प्रायः समर्थन गर्ने अन्य चारवटा दल पनि संसद्को तल्लो सदन स्टेट ड्युमामा पुनः प्रवेश गर्ने देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्