काठमाडौँ – भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नियुक्त गर्ने तयारी गरेको छ। निवर्तमान राजदूत नवीन श्रीवास्तवको कार्यकाल पूरा भएपछि भारत सरकारले दलेलाको नाम स्वीकृतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा ‘एग्रिमो’ पठाएको हो।
नेपाल सरकारबाट एग्रिमो स्वीकृत भई आएपछि उनको औपचारिक नियुक्ति प्रक्रिया पूरा हुनेछ र उनले काठमाडौँ आएर आफ्नो कार्यभार सम्हाल्नेछन्।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेला हाल भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्धसम्बन्धी सचिवका रूपमा कार्यरत छन्। विगतमा सामान्यतया सहसचिव स्तरका अधिकारीलाई नेपालमा राजदूत बनाएर पठाइने गरेकोमा यस पटक भारतले विशिष्ट श्रेणीका सचिव स्तरका अधिकारीलाई प्रस्ताव गर्नुलाई विशेष चासोका साथ हेरिएको छ।
दलेलासँग यसअघि विदेश मन्त्रालयको उत्तर महाशाखामा निर्देशक र संयुक्त सचिवका रूपमा नेपाल र भुटान मामिला लामो समयसम्म हेरेको अनुभव छ भने उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतको रूपमा समेत कार्य गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्