सत्तापक्षले धाँधली गर्न खोजे गोली ठोक्ने एमाले नेतृ चौधरीको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – नेकपा ९एमाले०की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार भगवती चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उम्मेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.१४ मा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विपक्षीले धाँधली र दुष्प्रयास गरे पहिलो फायरिङ आफूले खोल्ने बताइन् ।

- Advertisement -
Ad image

उनले हरेक गाउँमा कहाँ गडबड हुन्छ त्यहाँ धारिलो छुरा जसरी कार्यकर्ताहरूलाई ओराल्ने बताइन् । यसअघिका निर्वाचनमा धाँधली गरी आफूलाई हराएको आरोप लगाउँदै आएकी चौधरीले यसपटक त्यसको बदला लिने चेतावनी पनि दिएकी छन् ।

विपक्षीलाई चेतावनी दिएको चौधरीको भिडियो सामाजिक सञ्जालमा आएको छ । भिडियोको अन्तिममा उनले भनेकी छन्, “जनताको अभिमतलाई सुरक्षित रूपले परिणाम निकाल्न नदिने त्यस्तो काम गरियो भने त्यसको जवाफ दिन हामी तयार छौँ, भोलि पर्सि हुन्छ भने पनि, गोली नै ठोक्नु पर्‍यो भने, छुरा नै हान्नु पर्‍यो भने भगवती चौधरी तयार छु ।”

चौधरीले निर्वाचन आचारसंहिताविरुद्ध यस्तो हिंसात्मक अभिव्यक्ति दिएकी हुन् । चौधरीले दिएको अभिव्यक्ति आफूले पनि हेरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यो विषयमा मुख्य निर्वाचन अधिकृतसँग कसरी अगाडि जाने भन्ने विषयमा छलफल भइरहेको बताए ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पनि सो विषयमा जानकारी आएको बताएका छन् । आफूले भिडियो नहेरे पनि जानकारी आएको उनले बताए ।

३ नम्बर क्षेत्रका निर्वाचन अधिकृतलाई छलफलका लागि बोलाएको बताउँदै मुख्य निर्वाचन अधिकृत अधिकारीले भने, “भिडियो हेरेपछि के गर्ने हामी निर्णय गछौँ ।”

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका विजयकुमार गच्छदारसँग भगवती चौधरी दुईपटक पराजित भइसकेकी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्