प्रेस स्वतन्त्रता संकुचन हुने गरी विधेयक अगाडि बढाए आन्दोलनमा जाने पत्रकार महासंघको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ –  नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुने गरी मिडिया काउन्सिल विधेयक अगाडि बढाए त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त चेतावनी दिएको हो । २०७६ साल माघ २३ गते राष्ट्रिय सभाले पारित गरेर हालसम्म अलपत्र अवस्थामा रहेको ‘मिडिया काउन्सिल विधेयक’ यही भाद्र १७ गते शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको उक्त विधेयकमा रहेका कतिपय प्रावधानहरूप्रति गम्भीर चासो र बिमति रहँदै आएको महासंघले जनाएको छ । उक्त विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन महासंघ सडक संघर्षमा उत्रेको स्मरण विज्ञप्तिमा गरिएको छ ।

- Advertisement -
Ad image

महासंघको दबाबकै कारण राष्ट्रिय सभाबाट विधेयकमा रहेका समाचार लेखेकै कारण पत्रकारहरूलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्ने, सरकारले नियुक्त गरेका व्यक्तिले पत्रकारको परीक्षा लिएर पत्रकारिता गर्न अनुमति दिनेलगायतका कैयांै प्रेस स्वतन्त्रता विरोधी प्रावधानलाई सच्चाइएको थियो ।

संसदमा सांसदहरूको छलफल र संशोधन प्रस्तावहरूले महासंघले उठाएका सवालहरूलाई सम्बोधन गरी प्रतिनिधिसभाले यसलाई पूर्णता दिनेमा महासंघ विश्वस्त रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुने गरी तथा स्वायत्त नियामक निकायका रूपमा परिकल्पना गरिएको मिडिया काउन्सिल विधेयकलाई कमजोर बनाउने गरी अगाडि बढाइए त्यसविरुद्ध महासंघ आन्दोलनमा जान बाध्य हुनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्