काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका क्रममा काठमाडौँको ऐतिहासिक खुलामञ्चमा पुगेको क्षतिको सम्पूर्ण जिम्मेवारी लिँदै मर्मतसम्भार आफैँ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महाधिवेशन सकिएपछि मैदान हिलाम्मे भएको र दुवो मासिएको भन्दै चौतर्फी आलोचना भएपछि कांग्रेसले काठमाडौँ महानगरपालिकालाई औपचारिक पत्र पठाउँदै यस्तो स्पष्टीकरण दिएको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै महाधिवेशन सञ्चालनका क्रममा खुलामञ्च परिसरमा कुनै किसिमको क्षति हुन गएमा त्यसको क्षतिपूर्ति नेपाली कांग्रेसका तर्फबाट गरिने स्पष्ट पारेका छन्। कांग्रेसले महाधिवेशन प्रयोजनका लागि असोज १४ देखि २३ गतेसम्मका लागि खुलामञ्च बुकिङ गरेको थियो।
महाधिवेशनका क्रममा जम्मा भएको हजारौँको भिडभाड, मञ्च निर्माणका लागि प्रयोग गरिएका भारी सवारी साधन र निरन्तरको वर्षाका कारण महानगरले रोपेर हरियो बनाएको दुवो मैदान हिलाम्मे चौरमा परिणत भएको छ।
ऐतिहासिक र सार्वजनिक सम्पदालाई यत्तिकै कुरुप छाडिएको भन्दै स्थानीय र वातावरणविद्हरूले चिन्ता व्यक्त गरेपछि कांग्रेस टोलीले स्थलगत निरीक्षण समेत गरेको थियो। कांग्रेसले पत्रमार्फत राष्ट्रिय राजनीतिक कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग, समन्वय तथा सहजीकरण गरेकोमा काठमाडौँ महानगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरेको छ।


प्रतिक्रिया दिनुहोस्