काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी सहमहामन्त्री (खुला) पदको मतगणनामा नेता रामहरि खतिवडाले सुरुवातदेखि नै आफ्नो फराकिलो अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतपरिणामको पछिल्लो विवरण अनुसार खुला सहमहामन्त्रीतर्फ तीव्र प्रतिस्पर्धा देखिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार कुल ३,५८६ मत गणना भइसक्दा रामहरि खतिवडाले १,५८६ मत प्राप्त गर्दै शीर्ष स्थान सुरक्षित गर्दा उनका निकटतम प्रतिस्पर्धी अजयबाबु शिवाकोटी १,१२८ मतका साथ दोस्रो स्थानमा रहँदै खतिवडालाई पछ्याइरहेका छन्। हाल खतिवडा र शिवाकोटीबीच ४५८ मतको अन्तर रहेको छ। खुलातर्फ दुई सहमहामन्त्री निर्वाचित हुने व्यवस्था भएकाले दुवै नेताहरू जिततर्फ अग्रसर देखिएका छन्।
यसैगरी, तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ९०९ मत प्राप्त गर्दा चौथो स्थानमा देवेन्द्रराज कँडेल ७५३ मतका साथ रहेका छन्। अन्य उम्मेदवारहरूमा विकास कोइरालाले ५९५, राजीव ढुङ्गानाले ५७८, अमृतकुमार अर्यालले ४२१, रमेशप्रसाद धमलाले ४११ र विमलराज क्षेत्रीले १४१ मत प्राप्त गरेका छन्। निर्वाचन समितिले बाँकी मतहरूको गणना कार्यलाई द्रुत गतिमा अघि बढाइरहेको र अन्तिम परिणाम छिट्टै सार्वजनिक गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्