मौसममा बदली: वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा पर्ने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षा भइरहेको र कही स्थानमा दिउँसो र राति पनि सोही सम्भावना रहेकाले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ । देशका केही भागमा गएराति देखिनै भारी वर्षा भइहेको छ । विशेषगररी गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको हो ।

आज राति पनि प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी पूर्व र पश्चिम तथा चितवन र आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array