काठमाडौँ -नेपाल आयल निगमले मट्टितेल बिक्रेतालाई कारबाहीको चेतावनी दिएको छ। मट्टितेलको बिक्री वितरणमा लापरवाही बढेको भन्दै निगमले चेतवानी दिएको हो । उपभोक्ताले बेच्ने ठाउँ प्रष्ट नदेखिने र सूचना नराख्ने गुनासो आउन थालेपछि बिक्रेतालाई निगमले सूचना जारी गरेको छ। बिक्रेताहरुलाई पटक पटक सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दा पनि नटेरेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए। “नियमअनुसार सुरक्षा व्यवस्था, बिक्री स्थलमा साइनबोर्ड, सवारी आवातजावत गर्ने क्षेत्रमा पम्प नराख्ने र बिक्री स्थल छ भनेको ठाउँमा बिक्री कक्ष नभएको पाइएको छ,” उनले भने, “उपभोक्तालाई असजिलो पारेको देखिएको छ।”
त्यस्ता मट्टितेल बिक्रेताले ३५ दिनभित्र तोकिए बमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगममा सम्पर्क गर्न सूचना जारी गरिएको छ। नआउने मट्टितेल बिक्रेताको प्रमाणपत्र खारेज गर्ने चेतावनी निगमले दिएको छ।
प्रतिक्रिया दिनुहोस्