काठमाडौँ – हालै दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमण सम्पन्न गरेका प्रधानमन्त्री बालेन शाह आगामी जनवरी २०२७ भित्रै उत्तरी छिमेकी चीनको भ्रमणमा जाने तयारी सुरु भएको छ। फेब्रुअरी ६ (माघ २३) मा पर्ने चिनियाँ नयाँ वर्ष अगावै प्रधानमन्त्री शाहलाई बेइजिङमा स्वागत गर्ने गरी परराष्ट्र मन्त्रालय र चिनियाँ पक्षले कूटनीतिक गृहकार्य तीव्र पारेका हुन्।
भ्रमणको मिति र एजेन्डा तय गर्न परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसहित बेइजिङस्थित नेपाली दूतावास र काठमाडौँस्थित चिनियाँ दूतावास सक्रिय रूपमा जुटेका छन्।
राजदूतको सक्रियता र उच्चस्तरीय भेटवार्ता
भ्रमणको वातावरण बनाउन नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले कूटनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। राजदूत माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेट गरी बेइजिङ प्रधानमन्त्री शाहलाई जतिसक्दो छिटो स्वागत गर्न आतुर रहेको सन्देश दिएका छन्।
सम्भावित एजेन्डा: बीआरआई र पोखरा विमानस्थलको ऋण
दुवै देशका अधिकारीहरूका अनुसार यो भ्रमणमा द्विपक्षीय विकास परियोजना र आर्थिक साझेदारीका विषयले प्राथमिकता पाउनेछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार चिनियाँ पक्षले विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई अघि बढाउने विषयमा उच्चस्तरीय संवाद गर्न चाहेको छ।
अर्कोतर्फ, नेपाली पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा लिइएको चिनियाँ ऋणलाई अनुदानमा रूपान्तरण गर्ने विषयमा विशेष चासो राख्दै आएको छ। यद्यपि, भ्रमणका औपचारिक एजेन्डाहरूलाई अन्तिम रूप दिन बाँकी नै छ।
एक वर्ष विदेश नजाने घोषणापछि खुलेको कूटनीतिक ढोका
गत मार्चमा प्रधानमन्त्री नियुक्त भएलगत्तै चीनले शाहलाई भ्रमणको निम्तो पठाएको थियो। तर, त्यतिबेला प्रधानमन्त्री शाहले सुरुवाती एक वर्ष विदेश भ्रमण नगर्ने बताएपछि तयारी रोकिएको थियो। नोभेम्बर २२ देखि भारतको पहिलो द्विपक्षीय भ्रमण गरेसँगै अब उत्तरतर्फको भ्रमणको बाटो खुलेको हो।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार चिनियाँ पक्षले प्रस्ताव गर्ने औपचारिक मिति प्राप्त हुनासाथ भ्रमणको अन्तिम तालिका सार्वजनिक गरिनेछ।


प्रतिक्रिया दिनुहोस्