अनुसन्धानका गोप्य सूचना चुहाए कडा कारबाही: बहालवालादेखि पूर्वप्रहरीसम्मलाई प्रधान कार्यालयको चेतावनी !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखत तथा प्रमाणहरू अनधिकृत रूपमा बाहिरिन थालेपछि नेपाल प्रहरी प्रधान कार्यालयले कडा रवैया अपनाएको छ। अनुसन्धानका संवेदनशील विवरण सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपस्ट हुन थालेपछि प्रहरी प्रधान कार्यालयले बहालवाला तथा सेवा निवृत्त (पूर्व) प्रहरी कर्मचारीलाई विभागीय र कानुनी कारबाही गर्ने चेतावनी दिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विद्युतीय अभिलेख अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने कार्य गम्भीर अनुशासनहीनता र कानुनी अपराध भएको उल्लेख छ। यस्ता गतिविधिले अनुसन्धानको निष्पक्षता, शङ्कित व्यक्तिको वैयक्तिक गोपनीयता र समग्र प्रहरी संगठनको गरिमामा गम्भीर आँच पुर्‍याउने प्रहरीको ठहर छ।

- Advertisement -
Ad image

प्रहरी प्रधान कार्यालयले गोप्य सूचना चुहावट गर्ने तथा त्यस्तो कार्यमा प्रोत्साहन वा दुरुत्साहन गर्ने जोकोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही अघि बढाउने स्पष्ट पारेको छ। विज्ञप्तिअनुसार दोषी ठहरिने कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (नियम ७१, १०९ र ११३) तथा मुलुकी अपराध संहिता, २०७४ (दफा ९२ को उपदफा ३, ४ र ५) बमोजिम छानबिन गरी विभागीय र फौजदारी दुवै कारबाही गरिनेछ।

प्रधान कार्यालयले बहालवाला कर्मचारीलाई मात्र नभई अवकाशप्राप्त पूर्वप्रहरी कर्मचारीलाई समेत आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण र संगठनप्रतिको अनुशासन नबिर्सन सचेत गराएको छ। साथै, अनुसन्धानका क्रममा रहेका घटनाका अपुष्ट र गोप्य विवरण बाहिरिएको विषयलाई गम्भीरतापूर्वक लिँदै जिल्ला प्रहरी परिसर काठमाडौंले समेत यसबारे छुट्टै आन्तरिक छानबिन अघि बढाएको छ।

No description available.

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्