सुर्खेत – पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफूहरूले पाउने दाबी गरेका छन्।
आईतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समुहको प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिकता आफूहरूले पाउने दाबी गरेका हुन्।
उनले भने, ‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा विचाराधिन रहेको मुद्दामा धेरै बहस नगरौं। तर, अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु। अहिले कांग्रेसको सभापति मनै हुँ, महाधिवेशन पछाडि अर्को साथी सभापति रुपमा आउनुहुन्छ।’
साथै, उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए। न्यायालयप्रति विश्वास रहेको भन्दै पार्टीको आधिकारिकता आफूहरूले पाउने उनको भनाइ थियो।
उनले देशका जनता र कांग्रेस पार्टीले आफूलाई पाँचपटक सम्म प्रधानमन्त्री बनाएको बताउँदै अब आफूलाई केही नचाहिएको बताए।
उनले भने, ‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसके। अब मैले देश र जनतालाई दिन बाँकी छ। अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री।’
प्रदेश अधिवेशनलाई डा. शंशाक कोइराला लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए। यसअघि देउवा समूहको सुर्खेत जिल्ला महाधिवेशन सम्पन्न भइसकेको छ। सभापतिमा ललित भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।
देउवा समूहले कर्णालीको सभापति पनि निर्विरोध निर्वाचित गर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस्