काठमाडौं – शिक्षक महासंघले सातबुँदे माग अघि सार्दै सरकारलाई कडा आन्दोलनको चेतावनी दिएको छ ।
आईतबार महासंघले विज्ञप्ति जारी गर्दै विगतका सरकारले पनि सहमति पालना नगरेको र अहिले बलियो जनमतसहित आएको सरकारले पनि बेवास्ता गरेकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताएको छ ।
वर्तमान सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक १०० बुँदे प्रतिबद्धतामा ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने उल्लेख थियो । नौ महिनासम्म पनि विधेयक संसद्मा नपुगेकाले अब कडा आन्दोलन गर्ने चेतावनी महासंघको छ ।
“शिक्षक आन्दोलनपछि वार्तामान शिक्षक–कर्मचारीसँग सहमति गर्ने, सार्वजनिक खपतका लागि शिक्षा र शिक्षक–कर्मचारीको पक्षमा अग्रगामी भई बोल्ने तर तिनै विषयहरू कार्यान्वयनमा भने कहिल्यै इमानदार र जिम्मेवार नहुने राज्य चरित्रका कारण लामो समयदेखि थुप्रै पीडा सहेर शिक्षक–कर्मचारीले उही र उस्तै माग मुद्दामा लडिरहनु परेको अवस्था छ,” विज्ञप्तिमा भनिएको छ । ”
यस्ता छन् सात बुँदे माग
पेन्सन व्यवस्था : नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार मानी त्यसअघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणाली अनुसार निवृत्तिभरण दिनुपर्ने र ऐन जारी भएपछि स्थायी हुनेको हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली सुरु गर्न शिक्षा ऐन तथा निवृत्तिभरण ऐन संशोधन गर्नुपर्ने ।
अस्थायी सेवा अवधि गणना : आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवाबाट जोडी पेन्सन दिइनुपर्ने र यो सुविधा हाल निवृत्त भइसकेका त्यस्ता शिक्षकलाई समेत उपलब्ध गराउनुपर्ने ।
दुर्गम र स्थानीय भत्ता र बेरुजु : कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधारमा दुर्गम क्षेत्रका शिक्षकले पाउँदै आएको दुर्गम र स्थानीय भत्ता हटाइएको र विगतमा खाइपाई सकेको रकमसमेत महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाई फिर्ता गर्न पत्राचार गर्नु अन्यायपूर्ण रहेको महासंघको ठहर छ । उक्त विभेदकारी नीति सच्याई सबै शिक्षकलाई दुर्गम र स्थानीय भत्ता उपलब्ध गराउन माग गरिएको छ ।
कर्मचारी र ईसीडी शिक्षकको दरबन्दी : विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास शिक्षकको दरबन्दी सिर्जना गरी पद अनुसार नेपाल सरकारबाटै तलबभत्ता उपलब्ध गराउनुपर्ने ।
अग्रगामी विद्यालय शिक्षा ऐन : महासंघसँग संस्थागत सहकार्य र संवादमा विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गरी विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने ।
५४ सूत्रीय मागको सम्बोधन : महासंघको तेस्रो राष्ट्रिय परिषद्बाट पारित भई पेस भएको ५४ सूत्रीय मागलाई अविलम्ब सम्बोधन गर्नुपर्ने ।
विधान स्वीकृति : शिक्षा नियमावली दशौँ संशोधनको नियम १८७ उपनियम तीनअनुसार मन्त्रालयमा पेस भएको महासंघको विधान अविलम्ब स्वीकृत गर्नुपर्ने ।


प्रतिक्रिया दिनुहोस्