संसद्लाई पूर्ण डिजिटल बनाउने अभियानमा छौं: सभामुख अर्याल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८३, शनिबार
3 Min Read
Aa
?????? ?????? ????????, ?? ????? : ?????? ????? ?????????????? ?????? ?????????????? ????? ????? ????? ???? ??????? ?????????? ?????? ????????? ??????? ?????? : ??????? ?????/????

पाल्पा – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद्लाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अघि बढाइएको बताउनुभएको छ। संसद्का गतिविधि, जनप्रतिनिधिको उपस्थिति र कानुन निर्माण प्रक्रियाबारे नागरिकले सहजै जानकारी पाउने व्यवस्था मिलाएर संसद्लाई थप पारदर्शी र जवाफदेही बनाउन लागिएको उहाँको भनाइ छ।

पाल्पाको तानसेन नगरपालिका–९, दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको जानकारी दिए।

- Advertisement -
Ad image

डिजिटल पार्लियामेन्ट प्रणालीमार्फत नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि सदनमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने र आगामी दिनमा सदनमा प्रवेश तथा बाहिरिने समयसमेत सार्वजनिक गर्ने व्यवस्था गरिने उनले बताए।

सभामुख अर्यालले भने, ‘अब तपाईंले आफ्नो जनप्रतिनिधि कति पटक सदनमा उपस्थित भयो भनेर यहीँ बसेर आफ्नो मोबाइलबाट थाहा पाउनुहुन्छ। अब बिस्तारै जनप्रतिनिधि सदन चल्दा कति बजे गए र कति बजे निस्किए भन्ने पनि थाहा पाउनुहुन्छ।’

जनप्रतिनिधिको उपस्थिति र गतिविधिबारे नागरिकले जानकारी पाएपछि कामको मूल्याङ्कन गर्न सहज हुने तथा कार्यसम्पादनका आधारमा प्रश्न गर्न र जवाफदेही बनाउन सक्ने वातावरण बन्ने उनले उल्लेख गरे।

संसद्मा दर्ता भएका विधेयक, तिनको अवस्था, दुवै सदनमा विचाराधीन विधेयक तथा पारित र प्रमाणीकरण भएका कानुनको विवरण डिजिटल प्रणालीमा उपलब्ध गराइएको जानकारी दिँदै उहाँले यसले कानुन निर्माण प्रक्रियाबारे नागरिकको चासो र बुझाइ बढाउने बताए। ‘कानुन बन्नु भनेको कसका लागि बनाउँदै छौँ भन्ने कुरा सम्बन्धित सरोकारवालालाई थाहा हुनुपर्छ। उनीहरूले प्रयोग गर्न सहज हुने कानुन बन्नुपर्छ,’ उनले भने।

कानुन निर्माण गर्दा नेपालको भूगोल, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्नेमा जोड दिँदै सभामुख अर्यालले पुराना कानुनलाई आवश्यकताअनुसार संशोधन गर्ने र संविधानले व्यवस्था गरेअनुसार बन्न बाँकी कानुन बनाउने जिम्मेवारीमा आफूहरू रहेको स्पष्ट पारे। आगामी पुस्तालाई समेत उपयोगी हुने गरी दूरगामी सोचका साथ नागरिकमैत्री र प्रविधिमैत्री कानुन निर्माणमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सबै क्षेत्रका नागरिकबाट सुझाव र सहयोगको अपेक्षा गरे।

देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न राज्य सञ्चालन गर्ने व्यक्तिमा इमान्दारिता र क्षमता आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले देशलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताउनुभयो। यसका लागि प्रविधिको सदुपयोग, आत्मविश्वास र नेतृत्वप्रतिको विश्वास आवश्यक रहेको उनको भनाइ थियो। ‘युवाहरूले नेतृत्व गरिरहेको प्रतिनिधिसभा होस् या अहिलेको सरकारलाई विश्वास गर्नुपर्छ। अलिकति पर्खिनुपर्छ। विकास भन्ने कुरा छुमन्तरको बाचा भनेको जस्तो सम्भव छ जस्तो मलाई लाग्दैन,’ अर्यालले भने।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्